सी चिनफिङको विचारधारा नेपालमा लागू हुन सक्दैन : शेखर कोइराला

18

सिन्धुपाल्चोक – नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले नेपालमा सी चिनफिङको विचारधारा लागू गर्न खोजे सत्तारुढ पार्टी नेकपाको अस्तित्व सकिने बताएका छन् । चीन एक दलीय शासन व्यवस्थामा रहेको र नेपाल लोकतान्त्रिक पद्धतिबाट चलेको मुलुक रहेको भन्दै सी चिनफिङको विचारधारा नेपालमा कुनै हालतमा लागू हुन नसक्ने बताएका हुन् ।

काठमाण्डौंमा भएको सीको विचारधाराका बारेको गोष्ठी विवादित भएको भन्दै त्यो लागू गर्न खोजे हामीहरु गम्भीर हुनु जरुरी रहेको उनले बताए । बिहीबार सदरमुकाम चौतारामा भएको प्रजातन्त्र सेनानी संघको जिल्ला अधिवेशनमा बोल्दै कोइरालाले चिनफिङले चीनको नेतृत्व सम्हालेयता भ्रष्टाचार न्यूनीकरण भइरहेकाले नेपालले पनि यसबाट पाठ सिक्नुपर्नेमा जोड दिए ।

बालुवाटार जग्गा, वाइडबडी, एनसेल फोर जी प्रकरणमा अर्बौ भ्रष्टाचार भएको औंल्याउँदै उनले नेकपामा नेताहरु भ्रष्टाचारमा लिप्त भएकाले समस्या भएको आरोप लगाए ।

‘कांग्रेस पार्टी गिरोहले चलाउन थालेपछि कमजोर बनेको हो,’ कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले भने, ‘भ्रातृसंस्था र प्रजातन्त्र सेनानी कमजोर बन्दै गएपछि कांग्रेस नराम्रो अवस्थामा पुगेको हो ।’ उनले नेपाली कांग्रेसको आफ्नै विधि र विधान भएकाले त्यसअनुरुप चल्न सके कांग्रेसलाई कसैले छेक्न नसक्ने दाबी गरे ।

अहिले गणतन्त्र र संघीयता अफ्ट्यारोमा परेकाले प्रधानमन्त्री ओलीबाटै त्यसको खतरा रहेको उनको भनाई छ । गणतन्त्रलाई संस्थागत गर्ने र संघीयतालाई मिलाउने जिम्मा लोकतान्त्रिकवादीको काँधमा आएको उनले उल्लेख गरे । सप्तरी र सिन्धुपाल्चोकमा जागरण सभामा भएको विवादबारे सुनाउदै उनले आपसी गुटउपगुटले ध्वस्त बनाउँदै लगेको यर्थाथ देखाए ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले वाइडबडी प्रकरण, निर्मला हत्यादेखि एनसेल प्रकरणलाई लिएर वाम सरकारले जथाभावी गरिरहेको आरोप लगाए । ‘प्रधानमन्त्री ज्युले नालायकीपन देखाउनु भएको छ, जसको कारणले देश डुब्ने खतरामा पुगेको छ,’उनले भने ।

‘गृहमन्त्री रामबहादुर थापाले निर्मला हत्या र बलात्कार भइरहने विवादित अभिव्यक्तिमा गैरजिम्मेवारी देखिएको उनले असन्तुष्टि व्यक्त गरे । महिला राष्ट्रपति हुँदा देशभर महिलाकै हिंसा, बलात्कारको घटना भइरहनुले सरकारमाथि ठूलो प्रश्न चिन्ह खडा गरेको उनले प्रष्ट्याए । त्यसैगरी जिल्लाका अगुवा नेता, सभापतिदेखि प्रजातन्त्र सेनानीका अभियन्ता , जनप्रतिनिधिले कांग्रेसी विचारधारा र हालको अवस्थाबारे भनाइ राखेका थिए ।

प्रजातन्त्र सेनानी संघ सिन्धुपाल्चोकले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि डा शेखर कोइराला, विशिष्ट अतिथि प्रदीप पौडेल,  विशेष अतिथि बिकास लामा, शोभाकर पराजुलीको सहभागिता थियो ।

समाचार वर्गहरू