सी भ्रमणले सम्भावनाको अथाह ढोका खुल्यो : सरकार प्रवक्ता

18

काठमाडौ – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले चिनियाँ राष्ट्रपति सी चिङ्गपिङ्गको नेपाल भ्रमणले सम्भावनाको अथाह ढोका खुलेको बताएका छन् । हिजोको सपनाहरु आज योजनामा बदलिन सघाएको उनले बताए ।

उनले भने, ‘अब योजनाहरु कार्यान्वयनका तहमा जानेछन् । जसले अबका केही वर्षहरुभित्र नेपालको सम्पूर्ण अर्थतन्त्र, उत्पादन क्षेत्र, बहुआयमिक सामाजिक आर्थिक रुपान्तरणलाई अघि बढाउनेछ ।’

काठमाडौंमा आयोजित एक कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले २३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण गरेकोले यो भ्रमण ऐतिहासिक र फलदायी भएको बताए । ‘२३ वर्ष अघि चीन अहिलेको चीन थिएन भने नेपालमा पनि अहिलेको राजनीतिक व्यवस्था थिएन भन्दै उनले भने, ‘जनमतबाट पाँच वर्षको लागि गठन भएको सरकार रहेको बेला सीको नेपाल भ्रमणले नेपालका लागि बहुआयामिक उपलब्धी हासिल गरेको बताए ।

कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले सीको भ्रमणले नेपाल भित्र र बाहिर उल्लेखनीय छापहरु छाडेर गएको समेत बताए ।
यो भ्रमणलाई नेपालको संस्थापनले मात्र होइन, आम नागरिक र सबै राजनीतिक दल, सम्पूर्ण जनता र नेपालको भलो चिताउने सबैले हार्दिक स्वागत र समर्थन गरेको एउटा स्थिति देखा परेको उनको भनाई छ ।

उनले भने, ‘हाम्रा विकास निर्माणका योजनाहरुमा, सुख र समृद्धिका अभियानहरुमा हामी साथै रहन्छौं भन्ने दुई देशको राजनीतिक नेतृत्वको बिचमा उच्च हिसाबको विश्वास देखिएको छ ।’

आर्थिक विकासतर्फ लक्षित दीर्घकालीन साझेदारीको कुरा भएको छ, जुन नेपाली जनताको आकांक्षा हो । सुख र समृद्धि हासिल गर्ने त्यसमा चिनिया राष्टपतिले हात बढाउने घोषणा हुनु गौरवको कुरा रहेको उनको तर्क थियो ।

‘सम्मानीय प्रधानमन्त्रीले जुन सपना देख्नुभयो, नेपाल अब भूपरिवेष्ठितबाट भुजडित राष्टको रुपमा लैजाने । त्यसको निम्ति राष्ट्रपतिले हामीलाई हौसला दिनुभयो । नेपालको विकास अभियानमा साथ रहेको र त्यसमा चीन सरकारको योगदान रहने प्रतिवद्धता पनि दोहोर्याउनुभयो’, कार्यक्रममा मन्त्री बाँस्कोटाले भने ।

चीन र दक्षिण एसियासित अब हिमालयमा मानवीय पुल मात्र नभइ भौतिक पुल समेत स्थापित हुनु सुखद पक्ष रहेको मन्त्री बाँस्कोटाको भनाई छ । ‘सडक सञ्जाल, रेलवे, हवाई, सञ्चार ऊर्जा यी सब कुराले हाम्रो समृद्ध राष्ट्रहरुबाट छिमेकीले पाउने लाभको हिस्सा पनि हामीले पाउने अनुभूति भएको छ ।

समाचार वर्गहरू