सुदूरपश्चिम प्रदेशका सात विमानस्थल अझै सञ्चालन आएनन्

13

अमरगढी, रासस – सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका सात विमानस्थल लामो समयदेखि सञ्चालन हुन सकेका छैनन् । विगतको द्वन्द्व अवधिमा बन्द विमानस्थल सञ्चालनका लागि सरकारले प्रयास नगर्दा विमानस्थल प्रयोग बिहीन भएका हुन् ।

सुदूरपश्चिम प्रदेशका विमानस्थल सञ्चालन नहुँदा यस क्षेत्रका सर्वसाधारणले सास्ती खेप्नुपरेको उद्योग वाणिज्य संघ, डडेल्धुराका महासचिव खेमराज अवस्थीले जानकारी दिए । सुदूरपश्चिमका विमानस्थलमध्ये कैलालीको धनगढी, अछामको साँफेबगर र बाजुराको कोल्टी विमानस्थल मात्र सञ्चालनमा छन् ।

दार्चुलाको गोकुलेश्वर, तत्कालीन सुदूरपश्चिम विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम रहेको डोटीको दिपायल, अछामको कमलबजार, बझाङको चैनपुर, बैतडीको पाटन, कञ्चनपुरको महेन्द्रनगर र कैलालीको टीकापुर विमानस्थल बन्द अवस्थामा छन् । सञ्चालनमा रहेको विमानस्थलमा हवाई सेवा नियमित हुने सकेकोे छैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयले बन्द विमानस्थल अवतरणका लागि योग्य भए पनि नेपाल वायु सेवा निगमले सेवा नदिएपछि अन्य विमान कम्पनीले पनि जहाज नउडाएको जनाइएको छ ।

सुदूरपश्चिमका विभिन्न विमानस्थल सञ्चालनका लागि तत्कालीन मन्त्री लोकेन्द्र विष्टमगरले परीक्षण उडान शुरु गरेपनि हालसम्म उडान हुन सकेका छैनन् । सुदूरपश्चिमको क्षेत्रीय विमानस्थल पुनः सञ्चालन गर्न तत्कालीन क्षेत्रीय प्रशासक आत्माराम पाण्डेले पहल गरेपनि हालसम्म कार्यान्वयन भएको छैन ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दीपायल विमानस्थल र सुदूरपश्चिमका सबै विमानस्थललाई बाह्रै महीना सञ्चालनमा ल्याउने योजनामा प्रदेश सरकार लागि रहेको बताए ।

समाचार वर्गहरू