काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केपी शर्मा ओली पक्षले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता निर्णय गरेको छ। सोमबार बसेको ओली पक्षको स्थायी कमिटी बैठकले मुख्यमन्त्री भट्टलाई दिएको एमालेको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
यस्तै प्रदेश सरकारमा सहभागी एमालेका सबै मन्त्रीहरूलाई फिर्ता हुन समेत ओली पक्षको निर्देशन छ। भट्ट नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित मुख्यमन्त्री हुन्।
‘सदूर पश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई दीएको समर्थन फिर्ता लिन र पार्टीको तर्फबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन’ दिने निर्णय भएको उक्त पक्षका प्रवक्ता प्रदीप ज्ञवालीले जारी गरेको वक्तव्यमा उल्लेख छ।
समर्थन फिर्ता लिएसँगै नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका भट्टले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । ५३ सांसद रहेको सुदूरपश्चिम प्रदेशसभामा सभामुखसहित नेकपा एमालेका २५, उपसभामुखसहित नेकपा माओवादी केद्रका १४, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ सांसद छन् ।
विश्वासको मतका लागि मुख्यमन्त्री भट्टलाई २७ मतको आवश्यकता पर्छ । जसका लागि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको सहयोग अपरिहार्य छ ।