सुनको भाउ ६ सय रुपैयाँले घट्यो

15

काठमाडौं, साझा खवर संवाददाता – भदौ अन्तिम सातादेखि लगातार ओरालो लाग्न थालेको सुनको मूल्यमा बिहीबार पनि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ ।

मूल्य घटेसँगै नेपाली बजारमा छापावाल सुनको मूल्य ७० हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदी प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो । मूल्य घटेर चाँदी आज प्रतितोला ८ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य ७० हजार ४ सय रुपैयाँ कायम गरिएको छ । बुधबार तेजाबी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य पनि घटेर प्रतितोला ८ सय ५५ रुपैयाँ पुगेको छ । साउनको पहिलो सातादेखि उकालो लाग्न थालेको सुन भदौ अन्तिम सातासम्म पनि घट्न सकेको थिएन ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको महासंघले जनाएको छ । बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔस एक हजार ४ सय ९६ दशमलव ५ अमेरिकी डलरमा झरेको छ । यसअघि विश्व बजारमा सुनको मूल्य प्रतिऔस एक हजार ५ सय ४० अमेरिकी डलरसम्म पुगेको थियो ।

समाचार वर्गहरू