सुरक्षाकर्मीलाई हाई अलटमा बस्न प्रहरी प्रधान कार्यालयको सर्कुलर

68

काठमाडौं । नेपाल प्रहरीका प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मलाई बर्दीमा तयारी अवस्थामा बस्न सर्कुलर गरिएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत प्रहरीहरूलाई शनिबार बिहान ७ बजेबाटै बर्दीमा स्ट्यान्डबाई बस्न सर्कुलर गरेको बताइएको छ ।

उनीहरू सबैलाई चुस्ता पोसाक (बर्दी) मा बस्न सर्कुलर जारी भएको स्रोतले जनाएको छ । यसअघि आजै साँझ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले प्रहरी महानिरीक्षक दान बहादुर कार्कीसँग डेढ घण्टा छलफल गरेका थिए।

सो सर्कुलरपछि उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले पनि आफ्ना मातहतका कर्मचारीहरूलाई अलर्ट अवस्थामा रहन निर्देशन दिएको छ ।

शुक्रबार साँझ एक सर्कुलर जारी गर्दै उपत्यका प्रहरी कार्यालय रानीपोखरीले शनिबार आफ्ना कर्मचारीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएसंंगै अहिले सुरक्षा व्यवस्था समेत कडाई गरिएको बताइएको छ ।

यसअघि नेपाल प्रहरीको प्रधान कार्यालय, सशस्त्र प्रहरीको प्रधान कार्यालयले पनि कर्मचारीहरूलाई बर्दीसहित तयारी अवस्थामा बस्न सर्कुलर पठाइसकेको छ ।

यसैगरी, सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले पनि सशस्त्र प्रहरी उपरीक्षक (एसपी) र सोभन्दा मुनिका कर्मचारीहरूलाई चुस्ता पोशाक (बर्दी) सहित उपस्थित हुन सर्कुलर जारी गरेको छ ।

हेडक्वार्टरमा कार्यरत स्वीकृत बिदामा रहेका बाहेक सबैलाई अनिवार्य रुपमा उपस्थित हुन सर्कुलर जारी भएको स्रोतले जनाएको छ ।

उनीहरूलाई एपीएफ रंगशालामा उपस्थितिका लागि सर्कुलर गरिएको हो । उता, नेपाल प्रहरीले पनि जवानदेखि एसएसपीसम्मका सबै कर्मचारीलाई बर्दीमा तयारी अवस्थामा बस्न उर्दी जारी गरेको छ ।

समाचार वर्गहरू