सूर्यदर्शन सहकारी पीडितले बच्चाको स्कुलको बिल रास्वपा उम्मेदवारलाई थमाए

22

काठमाडौं – पोखरामा सूर्यदर्शन सहकारीका एक जना पीडित कृष्ण जैसीले रास्वपा उम्मेदवार विना गुरुङलाई आफ्नो बच्चा पढ्ने स्कुलको बिल बुझाएका छन् ।

पोखरा लेडी जेसिजले आयोजना गरेको कास्की क्षेत्र नम्बर ३ का उम्मेदवारहरूसँग सार्वजनिक बहस कार्यक्रममा उनले बिल बुझाएका हुन् ।

कार्यक्रममा सबैजसो दलका उम्मेदवारहरू सहभागी थिए । सबै क्षेत्रबाट प्रतिनिधित्व गर्ने सरोकारवाला व्यक्तिहरू उपस्थित थिए ।

‘उहाँको सभापतिले मेरो सहकारीमा भएको पैसा खाइदिनुभयो । मेरो बच्चाको बिल तिर्न नसकेर बच्चा निकाल्ने अवस्था बनेको छ । उहाँले नै तिरिदिनु भनेर बिल बुझाएको हुँ,’ जैसीले भने ।

जवाफमा गुरुङले भने सभापति लामिछानेको बचाउ गरिन् । उनले रवि लामिछानेमाथि लगाइएको मुद्दा विशुद्ध राजनीतिक प्रतिशोध भएको दाबी गरिन् । ‘हाम्रो सभापतिमाथि लगाइएको मुद्दा राजनीतिक प्रतिशोध हो भन्ने धेरैलाई थाहा छ,’ उनी भन्छिन्, ‘पार्टीले घोषणापत्रमा स्पष्ट लेखेको छ १ सय दिनभित्र एउटा विशेष कोष खडा गरेर न्यूनतम रकम फिर्ता गर्ने हाम्रो योजना छ ।’

अन्य उम्मेदवारहरूले भने ठुला दलहरूले नै सहकारी ठगहरूलाई पालेको र संसदमा पुर्‍याएको आरोप लगाए ।

पोखरामा दर्जनौं सहकारीका रकम हिनामिना हुँदा करिब ४० हजार व्यक्तिहरू सहकारीबाट पीडित बनेका छन् । अहिले उम्मेदवारसँग उनीहरूले आफ्नो रकम फिर्ताको ग्यारेन्टी मागिरहेका छन् ।

समाचार वर्गहरू