सोनीले दिलाईन ट्राईयाथलनबाट नेपाललाई स्वर्ण

17

(पोखरा) – ट्राईयाथलन खेलाडी सोनी गुरुङ्गले नेपालका लागि स्वर्ण दिलाएकी छिन् । उनले दक्षिण एशियामा ट्राईथालनको पावर मानिने भारतलाई पछि पार्दै स्वर्ण हात पारेकी हुन् । पोखरामा भएको खेलमा सोनीले नेपालका लागि स्वर्ण हात पारेकी हुन् ।

उनले निर्धारित ७५० मिटर पौडी, २० कि.मी. साईक्लिङ्ग र ५ किलोमिटर दौड १ घन्टा १३ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारेकी हुन् । पौडी र साईक्लिङ्गमा पछि परेकी उनले दौडमा आफुलाई अब्बल राख्दै स्वर्ण हात पार्न सफल भएकी हुन् ।

विजयी गुरुङ्गलाई नेपाल ट्राईयाथलन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठले नगद १ लाख प्रदान गर्ने घोषण गरेका छन् । यस्तै, गण्डकी प्रदेशका प्रदेशसभा सदस्य दीपक कोईरालाले खेलाडीलाई प्रोत्साहन स्वरुप नगद २५ हजार प्रदान गर्ने घोषण गरेका छन् ।

दोश्रो र तेश्रो स्थानमा भारत रह्यो । भारतकी सरोजनी देवी थउदमले १ घन्टा, १४ मिनेटका साथ रजत र भारतकै प्रग्न्या मोनानले १ घन्टा १४ मिनेट ५७ सेकेन्डका साथ कास्य प्राप्त गरे ।

पोखराको फेवा लेकमा भएको प्रतिस्पर्धामा पुरुष तर्फ भने नेपाली खेलाडी बसन्त थारुले कास्यमा चित्त बुझाउन बाध्य भए । उनले निर्धारित दूरी १ घन्टा ३ मिनट र ०६ सेकेन्डमा पूरा गरे । पुरुष तर्फ पहिलो र दोश्रो स्थान भारतले हात पाऱ्यो ।

भारतका आदर्श एमएन सिनिमोलले निर्धारित दूरी १ घन्टा २ मिनट ३१ सेकेन्ड र विश्वरजित साईखोमले १ घन्टा २ मिनट ५९ सेकेन्डमा साथ स्वर्ण र रजत प्राप्त गरे ।

समाचार वर्गहरू