काठमाडौं – पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक सभापति रवि लामिछानेको तर्फबाट उनका वकिलले सोमबारदेखि बहस सुरु गरेका छन्।
कास्की जिल्ला अदालतमा पहिलो दिन सोमबार बहस नसकिएपछि मंगलबारसमेत लामिछानेका वकिलले बहस गर्ने जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिवादी बनाइएका लामिछानेको तर्फबाट तीन जना वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, रमनकुमार श्रेष्ठ र सुरेन्द्र थापाले क्रमशः बहस गरेका हुन्। उनीहरूले पूरक अभियोग हदम्याद नाघेर आएकाले खारेज भागी हुनुपर्ने जिकिर गरेका छन्।
लामिछानेलाई सम्पत्ति शुद्धीकरण मुद्दामा मात्र झण्डै २८ करोड माग दाबी गरिनु गलत भएको उनीहरूको दाबी थियो। लामिछानेको खातामा सात लाख मात्र जम्मा रहेको बताएका छन्। लामिछाने गोर्खा मिडियामा प्रवेश गर्नुभन्दा पहिलेका खाताहरू समेत हेरिएको र २८ करोड भन्नु झुटो आरोप भएको जिकिर गरेका छन्। लामिछाने सन् २०२१ मा मात्र गोर्खा मिडिया गएको भए पनि सन् २०११ देखिका खाता हेरिनु गलत भएको उनीहरूको दाबी छ।
रवि लामिछानेको हस्ताक्षर गरी लिइएको भनिएको १ करोडको माग फाराममा उनको नभई कीर्ते गरिएको भन्ने प्रमाणित भइसकेको, सहकारीको ऋणी भएको भए उनको नाममा कबुलियतनामा हुनुपर्ने, सहकारीले रकम असुल्नका लागि ताकेता गरेको चिठीपत्रहरू हुनुपर्ने केही पनि नभएकाले सेयर सदस्य नै नभएको व्यक्तिलाई सहकारी ठगीको मुद्दा चलाउन प्रचलित कानुनले नदिने बहस गरेका थिए।
रविको पक्षमा बहस गर्नेहरूको संख्या धेरै भएपछि न्यायाधीश नीतिज राईले सोमबार बहसको सुरुआतमै एउटै कुराहरु नदोहोर्याउन निर्देश गरेका थिए।
शुक्रबारसम्म सबैको तर्फबाट बहस सकिने र सोही दिनसम्म अदालतले आदेश गर्ने अनुमान छ।