काठमाडौँ – उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको पार्टी एकता भंग भएको घोषणा गरेको छ।
शनिबार पार्टी कार्यालय त्रिपुरेश्वरमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले रास्वपासँगको एकता भंग भएको घोषणा गरेको हो।
बैठकमा उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले निजी कारण देखाउँदै राजीनामा दिएका थिए भने उपाध्यायले राजीनामा दिएपछि उज्यालो नेपालले कुलमान घिसिङलाई अध्यक्ष पदमा चयन गरेको छ।
शनिबार त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कुलमान घिसिङले उज्यालो नेपालको सदस्यता ग्रहण गर्दै पार्टी अध्यक्षको जिम्मेवारी सम्हालेका छन्। अब यो पार्टी ‘चिम’ चुनाव चिन्ह लिएर आगामी प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुनेछ।
नवनियुक्त अध्यक्ष घिसिङले रास्वपाका तर्फबाट आफूमाथि लागेका आरोपहरूको खण्डन गर्दै एकता प्रक्रियामा आफूले कुनै ठूलो पद वा प्रधानमन्त्रीको दाबी नगरेको स्पष्ट पारे। ‘बाहिर मैले प्रधानमन्त्री र पार्टी सभापति मागेको भनेर भ्रम फैलाइयो, जसमा कुनै सत्यता छैन,’ उनले भने, ‘म त बरु उपाध्यक्षको पनि निकै तल्लो वरीयतामा बसेर काम गर्न तयार थिएँ।’
रास्वपाले एकतर्फी रूपमा सहमति तोडेको आरोप लगाउँदै घिसिङले पछिल्लो १२ दिन आफ्नो पार्टी र समर्थकहरूका लागि अत्यन्तै पीडादायी भएको जिकिर गरे।
एकताको अन्तिम चरणमा आफूले रास्वपाको साधारण सदस्य मात्र भएर बस्न र आफ्ना केन्द्रीय सदस्यहरूलाई उचित स्थान दिन प्रस्ताव गर्दा पनि सहमति हुन नसकेको उनले खुलासा गरे। एकताको चर्चा चलिरहेका बेला रास्वपाले उज्यालो नेपालका साथीहरूलाई विभिन्न ठाउँमा पार्टी प्रवेश गराएर आफ्नो सङ्गठनमा क्षति पुर्याएको उनले दुखेसो पोखे।
‘हामीले एकताका लागि धेरै लचकता अपनायौँ, तर रास्वपाले उल्टै हाम्रा साथीहरूलाई तानेर अपमान गर्ने काम गर्यो,’ घिसिङले पत्रकार सम्मेलनमा भने।