रौतहट — रौतहटको गौरमा २७ जनाको हत्या भएको घटनामा प्रहरीले १९ वर्षपछि अनुसन्धान अघि बढाएको छ ।
सर्वोच्च अदालतबाट जारी परमादेशको पूर्णपाठ ७ पुसमा प्राप्त भएपछि रौतहट प्रहरी अनुसन्धानमा जुटेको हो । घटनालगत्तै किटानी जाहेरी परे पनि माओवादी, तत्कालीन मधेशी जनअधिकार फोरम र सत्ताको ‘सम्झौता’ मा अनुसन्धान रोकिएको थियो ।
प्रधानमन्त्री, मन्त्रीलगायतसँग पटक–पटक हारगुहार गर्नुका साथै दबाबका धर्ना, जुलुस गर्दासमेत सुनुवाइ नभएपछि पीडितले १८ जेठ २०८० मा रिट दायर गरेका थिए । त्यसमा सुनुवाइ गर्दै न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले गएको २ भदौमा तत्काल अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको थियो । चार महिनापछि प्रहरीले परमादेशको पूर्णपाठ पाएको हो ।
जिल्ला प्रहरीले १५ पुसदेखि पीडित परिवारको बयान लिइरहेको छ । मृतक परिवार र घाइतेसँग थप जाहेरी र बयान लिने तयारी छ ।
७ चैत २०६३ को घटनाबारे ७ जनाले २८ वैशाख २०६४ मा किटानी जाहेरी दिए पनि बौधीमाई–८ का त्रिभुवन साह मात्र पीडित (घाइते) थिए । जाहेरीकर्ता लडाई मुखिया, राजदेव सिंह, जयराम यादव, रामनन्द प्रसाद, जयप्रकाश साह र देवेन्द्र पटेल तत्कालीन माओवादीको जनवर्गीय संगठन मधेशी राष्ट्रिय मुक्ति मोर्चा र वाईसीएलसित सम्बद्ध नेता–कार्यकर्ता हुन् ।
घटना निकै पुरानो भएकाले प्रभावकारी अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली झिकाउने तयारी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी रविन कार्कीले जानकारी दिए । यस घटनामा राजनीतिक दलका नेतासमेत जोडिएकाले जिल्ला प्रहरीले सीआईबीको साथ खोजेको हो । ‘हाम्रोतर्फबाट तीव्र गतिमा अनुसन्धान सुरु भइसकेको छ । बयान लिने, सोधपुछ गर्ने काम भइरहेको छ,’ उनले भने ।
तत्कालीन एसपी (हाल सीआईबीका डीआईजी) भूपेन्द्र खत्रीले जिल्ला प्रहरी रौतहटको प्रमुख भएका बेला भदौ २०७६ मा गौर घटनाको फाइल अध्ययन थालेका थिए । कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताव आलम जोडिएको राजपुर बमकाण्डको अनुसन्धान सकेपछि उनले गौर घटनाको अनुसन्धान बढाउने विषयमा आफ्ना टिममा छलफल गरेका थिए । तर अनुसन्धान अघि नबढ्दै उनको सरुवा भयो । त्यसपछि अनुसन्धान थाती नै रहेको थियो ।
अनुसन्धान अड्किएपछि त्रिभुवन साह, रूपसागर उपाध्याय, रुपैया खातुन र विक्रम पटेल सर्वोच्च पुगेका थिए । उनीहरूले गौर हत्याकाण्ड संलग्नलाई अनुसन्धान र कारबाहीको दायरामा ल्याउन माग गर्दै रिट दायर गरेका थिए । सर्वोच्चले परमादेशका क्रममा जाहेरी दरखास्त दर्तापछि कानुनबमोजिम अनुसन्धान तहकिकातसमेतको कारबाही अगाडि बढाउने कानुनी कर्तव्य प्रहरी कार्यालयको रहेको भनेको थियो ।
जाहेरी दर्ता र अनुसन्धानलाई प्रहरीले ऐच्छिक बनाउँदा सूचना र न्याय पाउने पीडितको हक निस्तेज हुने भन्दै सर्वोच्चले प्रहरीको स्वेच्छाचारी भूमिकामाथि समेत प्रश्न उठाएको थियो । अदालतको परमादेशपछि राजनीतिक प्रतिशोध साध्न जाहेरीमा नाम राखिएको भन्दै दुई महिनाअघि सदरमुकाम गौरमा मसाल जुलुस निकालिएको थियो ।
गौर घटनामा जसपा नेपाल (तत्कालीन मधेशी जनअधिकार फोरम) का अध्यक्ष उपेन्द्र यादव, संविधानसभाका पूर्वसदस्य बबन सिंह, प्रदेशसभाका पूर्वसांसद बाबुलाल साह र किशोरीराय यादव आरोपित छन् । यस्तै, जाहेरीमा किटान गरिएका अन्यमा नागरिक समाजका अध्यक्ष जगन्नाथ केशरी, एमालेका केन्द्रीय सदस्य एवं पूर्वनगर प्रमुख अजय गुप्ता, अर्का पूर्वनगर प्रमुख गौरीशंकर यादव, पूर्वन्यायाधीश बलिरामसिंह कुँवर, पूर्वजिविस सभापति चन्द्रिका सिंह, लोसपाका केन्द्रीय सदस्य अनिल सिंहलगायत छन् ।
आरोपितमध्ये ब्रह्मपुरी घर भएका पूर्वन्यायाधीश कुँवर, गौर नगरपालिकाका पूर्वनगर प्रमुख गौरीशंकर यादव, सरुअठा घर भएका पूर्वजिविस सभापति चन्द्रिका सिंहको मृत्यु भइसकेको छ । सर्वोच्चको परमादेशपछि न्याय पाउने आशा पलाएको पीडित त्रिभुवन साहले बताए । ‘अब गडबड भएन भने अनुसन्धानले तीव्रता पाउला, नियत सफा राखेर प्रहरीले अनुसन्धान पूरा गर्यो भने न्याय पाइन्छ भन्ने विश्वास छ,’ उनले भने ।
गौर घटना त्रिभुवनलाई ढाड र खुट्टामा चोट लागेको थियो । आफूमाथि बाँसको फराठा (भाटा) बर्सिरहँदा उनले भागेर ज्यान जोगाएका थिए । सिधै गौर अस्पताल पुगेर उपचार गराएका थिए । ‘घटनालगत्तै प्रहरीमा किटानी जाहेरी दिएका थियौं । सत्ता र शक्तिको आडमा अनुसन्धान नै हुन नदिइएपछि राजधानी र जिल्ला सदरमुकाम पटक–पटक धायौं, धर्ना दियौं, जुलुस निकाल्यौं तर कसैले सुनेन,’ साहले सुनाए, ‘केही नलागेपछि सर्वोच्च अदालतमा गएका थियौं । परमादेशपछि न्यायको ढोका खुलेको महसुस भएको छ ।’
गौर घटनामा ज्यान गुमाएका बौधीमाई–८ का नरधेश्वर उपाध्यायकी श्रीमती रूपसागर उपाध्यायले पनि न्याय पाउने आशा जागेको सुनाइन् । उनी ‘गौर हत्याकाण्ड संघर्ष समिति’ की संयोजकसमेत हुन् ।
पीडित परिवारले तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष यादवलाई गौर घटनाका प्रमुख कसुरदारका रूपमा चित्रण गरेका छन् । उनी पटक–पटक मन्त्री र उपप्रधानमन्त्री भइसकेका नेता हुन् । राष्ट्रिय मानवअधिकार आयोगको अध्ययन प्रतिवेदनले पनि तत्कालीन माओवादी र फोरमका कार्यकर्ताबीच भिडन्तमा यति धेरै क्षति हुनुमा फोरम कार्यकर्ताको व्यवहार जिम्मेवार रहेको ठहर गरेको थियो ।
जसपा नेपालका अध्यक्ष यादव पहिले नै छानबिन भइसकेको घटनामा फेरि छानबिन गर्न लागिएकामा प्रश्न उठाउँछन् । ‘गौर घटनाका विषयमा अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूले समेत छानबिन गरिसकेका छन् । फेरि प्रहरीले छानबिन गर्ने रे ! यो पनि विचित्रको छ, मैले बुझ्न सकेको छैन,’ उनले कान्तिपुरसित भने, ‘तर पनि अनुसन्धानमा सहयोग गर्छु ।’
अध्यक्ष यादवले घटनाको दिन आफू रौतहट नगएको बताए । त्यो दिन आफू काठमाडौंमै बसेको सुनाए । तत्कालीन मधेशी जनअधिकार फोरममाथि माओवादी छापामारले हमला गर्दा दुर्घटना भएको उनले दाबी गरे । ‘त्यो दुर्भाग्यपूर्ण घटना हो । त्यसमा म संलग्न छैन,’ उनले थपे ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (एआईजी) अविनारायण काफ्लेले सर्वोच्च अदालतको परमादेशको पूर्णपाठ अध्ययन गरेर मात्र गौर घटनाको अनुसन्धानका विषयमा बोल्ने बताए । ‘घटना भएपछि प्रहरीले अनुसन्धान र कानुनबमोजिम काम गर्छ,’ उनले भने, ‘त्यस बेला के भएको हो, फरक के थियो, पूर्णपाठ हेरेर मात्र भन्छु ।’
यसरी भएको थियो गौर घटना
७ चैत २०६३ मा गौरस्थित राइस मिल्स चौरमा तत्कालीन मधेशी जनअधिकार फोरमले आमसभा आयोजना गरेको थियो । तत्कालीन माओवादीनिकट मधेशी राष्ट्रिय मुक्ति मोर्चाले पनि त्यही ठाउँमा कार्यक्रम राखेको थियो । कार्यक्रमका लागि दुवै पक्षले एक सय मिटरको दूरीमा मञ्च बनाएका थिए । तत्कालीन फोरमले मैदानको दक्षिण र माओवादीले उत्तरको कुनामा अघिल्लो दिन नै मञ्च बनाएका थिए ।
कार्यक्रमअघि दुवै दलले प्रचार थालेपछि स्थानीयले झडप हुने अनुमान गरेका थिए । स्थानीय प्रशासन र प्रहरीले एकै स्थलमा कार्यक्रम रोक्न आग्रह गरे पनि दुवै दलले मानेनन् । तत्कालीन माओवादी फोरमलाई सभा गर्न नदिने पक्षमा थियो भने फोरम सभा गरेरै छाड्ने अडानमा थियो ।
७ चैतको बिहान ११ बजे फोरमको जुलुस नगर परिक्रमा गरेर कार्यक्रमस्थल पुग्यो । जुलुस गर्दै फोरम कार्यकर्ताका हातमा बाँसका फराठा (भाटा) देखिन्थ्यो । अपराह्न माओवादीले पनि नगर परिक्रमाबाट र्याली सुरु गर्यो । कार्यक्रमका लागि दुवै दलले गाउँ–गाउँबाट कार्यकर्ता ल्याएका थिए । तत्कालीन फोरमले प्रमुख अतिथिका रूपमा अध्यक्ष उपेन्द्र यादवलाई बोलाएको थियो । माओवादी कार्यक्रमको नेतृत्व तत्कालीन जिल्ला इन्चार्ज प्रभु साहले गरेका थिए । तर दुवै नेता मञ्चमा आएनन् ।
तत्कालीन माओवादी नेता–कार्यकर्ता नगर परिक्रमामा निस्किएपछि उनीहरूको मञ्चमा फोरमका कार्यकर्ताले तोडफोड र आगजनी सुरु गरे । त्यत्तिकैमा माओवादीको वाईसीएल समूह मैदान प्रवेश गर्यो । आफ्नो मञ्च भत्किएको देखेपछि उनीहरू पनि फोरमका कार्यकर्तामाथि आक्रामक शैलीमा प्रस्तुत भए । दुवैतर्फबाट लाठी, फराठा र गोली हानाहान भयो ।
सभामा सइको कमान्डमा १० जना मात्र प्रहरी तैनाथ थिए । परिस्थितिलाई प्रहरीले नियन्त्रणमा ल्याउनै सकेन । माओवादीका कार्यकर्ता भाग्ने क्रममा गौंडा कुरेर बसेका फोरम कार्यकर्ताले बाँसको फराठा (भाटा) प्रहार गरे । ज्यान गुमाएकाहरूको शव नालीमा फालिएको थियो । गौर अस्पताल लगिएका घाइतेमाथि पनि फोरमका कार्यकर्ताले हमलाको प्रयास गरेका थिए । अबेर साँझसम्म पनि तनाव कायमै रहेपछि जिल्ला प्रहरीले कर्फ्यु लगाएको थियो । तत्कालीन प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ओझा नै पुरेनवा दरबारमा रहेको सेनाको गुल्ममा लुकेर बसेका थिए ।
घटनास्थल र वरपर १५ जनाको शव भेटिएका थिए । ६/७ किलोमिटर पूर्व उत्तरतर्फ एकै ठाउँमा १२ जनाको शव फेला परेका थिए । ५३ जना घाइते भएका थिए । घटनाको ९ महिनापछि मृतकका परिवारले राज्यबाट १० लाख रुपैयाँका दरले राहत पाएका थिए ।
गौर हत्याकाण्डको निष्पक्ष छानबिन हुनुपर्ने माग उठेपछि ९ चैत २०६३ मा सरकारले तत्कालीन पुनरावेदन अदालत पाटनका तत्कालीन न्यायाधीश हरिप्रसाद घिमिरेको संयोजकत्वमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरेको थियो । टोलीमा जिल्ला अदालत जुम्लाका तत्कालीन न्यायाधीश अनन्त डुम्रे, न्यायाधिवक्ता टीकाबहादुर हमाल, तत्कालीन प्रहरी नायब महानिरीक्षक रमेश चन्द र राष्ट्रिय सतर्कता केन्द्रका तत्कालीन कामु प्रमुख रामसरबर दोबेसमेत थिए । समितिले तयार गरेको प्रतिवेदन सार्वजनिक गरिएको छैन ।
राष्ट्रिय मानवअधिकार आयोगले पनि गौर घटनाको अनुसन्धान गरेर २२ पुस २०७९ मा प्रतिवेदन सार्वजनिक गरेको थियो । आयोगले घटनालाई जघन्य अपराध ठहर गर्दै दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन सिफारिस गरेको थियो । आयोगले घटना नियोजित, मनसाययुक्त र क्रूर भएको निष्कर्ष निकालेको थियो ।
तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष यादवले त्यति बेला माओवादीविरुद्ध स्थानीयले प्रतिकार गरेको दाबी गर्दै आएका छन् । तत्कालीन माओवादीबाट नेतृत्व गरेका (हाल आम जनता पार्टीका अध्यक्ष) प्रभु साहले भने जानाजान हत्या गरिएकाले अनुसन्धान गरी मुद्दा दायर हुनुपर्ने माग उठाउँदै आएका छन् । उनले प्रतिनिधिसभा बैठकमा समेत गौर घटनाको अनुसन्धान हुनुपर्ने माग पटक–पटक राखेका थिए ।
जाहेरीमा किटान गरिएका नाम
१. अजय गुप्ता, गौर–९, रौतहट
२. गौरीशंकर यादव, गौर–९, रौतहट
३. बाबुलाल साह कानू, गौर–२, रौतहट
४. ललन सिंह, गौर–१३, रौतहट
५. चन्द्रिका सिंह, सरुअठा–४, रौतहट
६. बलरामसिंह कुावर, ब्रह्मपुरी, रौतहट
७. उपेन्द्र यादव, बसनाहा, सप्तरी
८. राजेन्द्र यादव, ठेगाना नखुलेको
९. सञ्जीव यादव, टेंग्राहा–१, रौतहट
१०. रामकलेवर सिंह, गौर–५, रौतहट
११. जगन्नाथ केशरी, गौर–९, रौतहट
१२. सञ्जीव यादव, मुडवलवा–२, रौतहट
१३. शम्भु सिंह, गंगापिप्रा–२, रौतहट
१४. रामप्रवेश सिंह, गंगापिप्रा–२, रौतहट
१५. रूपनारायण चौधरी, हथियाही–७, रौतहट
१६. चुल्हाई साह, बसतपुर–१, रौतहट
१७. देवानन भन्ने देवनाथ झा, बसतपुर, रौतहट
१८. रामआधार साह, बसतपुर–१, रौतहट
१९. शिवशंकर सिंह, ब्रह्मपुरी–१, रौतहट
२०. जगरनाथ ठाकुर, ब्रह्मपुरी–५, रौतहट
२१. गणेश राय यादव, शीतलपुर बैरगनिया, रौतहट
२२. विनोद सिंह, ब्रह्मपुरी–१, रौतहट
२३. जयनन्द यादव, दक्षिण भिटकैया, बारा
२४. नन्दकिशोर साह, सरमजुवा–२, रौतहट
२५. कपिलदेव राय यादव, धरहरी, रौतहट
२६. दामोदर प्रियदर्शी, सोनरिया–४, रौतहट
२७. बबन सिंह, ब्रह्मपुरी–१, रौतहट
२८. भूषण सिंह, गौर–१३, रौतहट
२९. रामप्रसाद लाल, ब्रह्मपुरी–२, रौतहट
३०. जितेन्द्र सिंह, ब्रह्मपुरी–१, रौतहट
३१. रामेश्वर राय यादव, मुडबलवा–२, रौतहट
३२. प्रेमचन्द्र झा, रौतहट
३३. राम अयोध्या महतो चनउ, गौर–६, रौतहट
३४. अवधेश चनउ, गौर–६, रौतहट
३५. रामनिवास सिंह, हजमिनिया–८, रौतहट
३६. उमेश तिवारी, हजमिनिया–८, रौतहट
३७. अशोक सिंह, हजमिनिया–१, रौतहट
३८. भाग्यनारायण साह, बसतपुर, रौतहट
३९. शंकर सिंह, बसतपुर–८, रौतहट
४०. मुन्ना सिंह, हजमिनिया–१, रौतहट
४१. मंगल राउत बरई बरियारपुर–५, रौतहट
४२. शेख दाउद, कनकपुर, रौतहट
४३. शंकर यादव, माइधिया मानपुर, रौतहट
४४. अरुण सिंह, गौर–१३, रौतहट
४५. मुकुट सिंह, हजमिनिया–१, रौतहट
४६. विश्वनाथ पट्टेल, जेठरहिया–८, रौतहट
४७. वीरेन्द्र राउत, जेठरहिया–९, रौतहट
४८. जयचन्द यादव, टेंग्राहा–४, रौतहट
४९. दिन्ना यादव, टेंग्राहा–२, रौतहट
५०. सहन राय यादव, टेंग्राहा–१, रौतहट
५१. हरिन्द्र यादव, जयनगर–९, रौतहट
५२. वैद्यनाथ साह, मठिया–७, रौतहट
५३. लली साह तेली, औरही–१, रौतहट
५४. शंकर साह बनिया, औरही–१, रौतहट
५५. वीरेन्द्र पाण्डे, गंगापिप्रा, रौतहट
५६. जोद्धा साह, गौर, रौतहट
५७. शंकर राय यादव, लक्ष्मीपुर, रौतहट
५८. बेराहिम अन्सारी, जयनगर, रौतहट
५९. श्रीनारायण झा, बसतपुर, रौतहट
६०. रामबाबुप्रसाद यादव, कचारवा–१, बारा
६१. जियालालप्रसाद यादव, इनर्वामाल कोइलीडिह, बारा
६२. सिउनाथ पट्टेल, मझौलिया भिटकैया, बारा
६३. मदन साह, गौर–१२, रौतहट
६४. अरबिन्द सिंह, हजमिनिया–१, रौतहट
६५. पवन सिंह, हजमिनिया–८, रौतहट
६६. भूपेन्द्र महतो, भसेढवा, रौतहट
६७. राम सोगारत यादव, गौर–४, रौतहट
६८. पंकज भारती, गौर–४, रौतहट
६९. नरेश भारती, गौर–४, रौतहट
७०. दीपेन्द्र भारती, गौर–४, रौतहट
७१. देवी यादव, गौर–५, रौतहट
७२. लालकिशोर राउत, गौर–९, रौतहट
७३. रामदास साह, बसतपुर–१, रौतहट
७४. रामेश्वर साह, बसतपुर–१, रौतहट
७५. रामजी दास, बसतपुर–१, रौतहट
७६. रजनीश झा, बसतपुर–१, रौतहट
७७. हरिकिशोर यादव, गौर मालपोतमा लेखापढी गर्ने
७८. लालकिशोर राउत, गौर–९, रौतहट
७९. गंगा सिंह, गौर–९, रौतहट
८०. हिन्दु राय यादव, महमदपुर, रौतहट
८१. नवल यादव, महमदपुर, रौतहट
८२. बज्र यादव, महमदपुर, रौतहट
८३. सञ्जीव झा, रौतहट
८४. रणवीर महतो, रौतहट
८५. गगनदेव महतो, रौतहट
८६. सोनालाल यादव, रौतहट
८७. भुनरेस यादव, रौतहट
८८. नरेश साह तेली, रौतहट
८९. अर्जॅन मल्लिक, गौर, रौतहट
९०. जगदीश मल्लिक, गौर, रौतहट
९१. फेकु, गौर गडवा, रौतहट
९२. मुल्तिक, गडवा, रौतहट
९३. भद्दा ठाकुर हजाम, ब्रह्मपुरी, रौतहट
९४. रामशंकर श्रीवास्तव, ब्रह्मपुरी, रौतहट
१०८. किशोरी राय यादव, इनरवारी–१ रौतहट
१०९. वलरुवा अन्सारी, जयनगर रौतहट
११०. रामचन्द्र गिरी, नरकटिया रौतहट
१११. शम्भु साह कानू, गौर–२ रौतहट
११२. अवधेश चनउ, टिकुलिया–६ रौतहट
११३. सञ्जय केशरी, टिकुलिया–६ रौतहट
११४. राजीनन सिंह, गौर रौतहट
११५. रामकुमार शर्मा, महोत्तरी
११६. तेजीलाल पटेल, इनरवारी–६ रौतहट
११७. गगनदेव बैठा, टेंग्राह–७ रौतहट
११८. कौशल सिंह, वसतपुर–४ रौतहट
११९. रामनिवास सिंह, हजमिनिया रौतहट
१२०. रामअवतार साह तेली, वसतपुर रौतहट
१२१. राजेश गुप्ता, ठेगाना नखुलेको
१२२. हरि सिंह, ठेगाना नखुलेको
१२३. शंकर मुखिया, ठेगाना नखुलेको
१२४. राजेन्ऽ पटेल, ठेगाना नखुलेको
१२५. रामप्रवेश पटेल, लक्ष्मनिया–५ रौतहट
१२६. शेख जमशैद, गौर–१० रौतहट
१२७. गुडु सिंह, ब्रम्हपुरी–१ रौतहट
१२८. विनोद सिंह, ब्रम्हपुरी–१ रौतहट
१२९. उमा राय यादव, औरइया–८ रौतहट
१३०. विक्रम सिंह, गौर–१३ रौतहट
कान्तिपुर