सिन्धुपाल्चोक – नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी २१ दिनपछी मंगलबारबाट पुनः सुचारु भएको छ । भोटेकोशी बाढीले क्षति पुर्याएको मितेरी पुल मर्मतका लागि चीन सरकारले यही माघ ७ गते तीन साताको लागि सो नाका बन्द गरेको थियो ।
नाका सुचारु भएसँगै मंगलबार बिहान सामान लोड भएका तीनवटा कन्टेनर भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले जानकारी दिए । चिनियाँ पक्षले कीटनाशक औषधिसहित स्प्रे गरेर मात्र सीमा पुलमा ल्याएर छाड्ने गरेकोले कोभिड–१९ सङ्क्रमणबाट सुरक्षित रहेको भन्सार कार्यालयले जनाएको छ ।
अहिले भित्रिएका सामानमा प्रायःजसो स्याउ, तयारी पोसाक, जुत्ता चप्पल, माक्स तथा जलविद्युत् आयोजनाका मेसिनरी सामान रहेको बताइएको छ ।
भित्रिएका सामान जाँच गर्न सामान धनी आएपछि मात्र सुरु गरिने हुँदा एक–दुई दिन समय लाग्ने र त्यसपछि मात्र राजधानी भित्रिने बताइएको छ ।