३५ अर्बको मेलम्ची खनेपानि आयोजना ध्वस्त,अब कहिले काठमाडौं आउँछ मेलम्चि ?

34

मेलम्ची : ३५ अर्ब रुपैयाँ लगानी, २२ वर्षको मेहनत। एक रातमै आएको बाढीले चक्नाचुर। मेलम्ची आयोजना फेरि अन्योलमा।

‘सपनाजस्तै बनेको’ मेलम्चीको पानी आफ्नै घरको धारामा झर्दा राजधानीवासीले पानीको दुःख अन्त्य भएको महसुस गरे। तर, त्यो खुसी धेरै दिन टिकेन। मेलम्ची नदीमा असार १ गते आएको बाढीले आयोजनालाई क्षतविक्षत बनाएको छ। वर्षायाममा खोलामा बाढी आउनु स्वाभाविक हो। तापनि, यत्रो ठूलो राष्ट्रिय गौरवको आयोजना निर्माण गर्दा ‘सम्भावित जोखिम’तर्फ ध्यान नपुगेको यसले देखाउँछ।

किन भएन पुनर्निर्माण ?
बाढीले मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचनासम्मको आठ किलोमिटर बाटोको नामनिसाना छैन। बाटो नहुँदा मुख्य संरचनासम्म न कामदार पुग्न सकेका छन् न त तत्काल डोजर पुग्ने अवस्था नै छ। बाढीले क्षति पुर्‍याएको दुई साता बित्दा पनि पुनर्निर्माणको काम अघि बढ्न सकेको छैन।

असार १ देखि ४ गतेसम्म भएको अविरल वर्षाले आयोजनामा नराम्ररी क्षति पुगेको हो। परियोजनाको सुरुवात बिन्दु, बाँध, अडिट सुरुङ, हेडवर्क्स, प्रवेश मार्ग, पुल र सुरु बिन्दुका संरचना क्षतिग्रस्त भएका छन्। मुख्य सुरुङमा क्षति नपुगेको होला भन्नेमा आयोजनाका कर्मचारीमा झिनो आशा छ। मुख्य सुरुङ बाढीले पुरिएको छ।

आयोजनाले ६० दिनमा सुरुङ खाली गरी निरीक्षण गर्ने र पुनः काठमाडौंमा पानी पठाउने योजना बनाइरहेका बेला बाढीले वितण्डा मच्चायो। राष्ट्रपतिले गत चैत २० गत उद्घाटन गरे पनि भदौ दोस्रो साताभित्र काठमाडौंवासीलाई दीर्घकालीन रुपमै पानी पिलाउने लक्ष्य आयोजनाले लिएको थियो।

मेलम्ची बजारबाट हेडवर्क्स (मुख्य बाँध) भएको अम्बाथानसम्म २२ किलोमिटर सडक प्रवेशमार्गका रूपमा छ। प्रवेशमार्गको चनौटेसम्म आंशिक क्षति पुगेको छ। चनौटेबाट मुख्य प्रवेशमार्ग अम्बाथानसम्मको ८ किलोमिटर सडक र पुलको संरचना ध्वस्त छन्। यस्तै, मुख्य संरचना हेडवर्क्स र वरपरका संरचना बाढीले बगाएर ल्याएको नदीजन्य पदार्थले पुरिएका छन्। नदीको सतहमा २ किलोमिटरसम्म ढुंगा, गिट्टी, बालुवा जम्मा भएका छन्।

आयोजनाको मुख्य संरचनासम्म जाने बाटो नै नभएकाले पहिले बाटो बनाउने अनि थुप्रिएका फोहोर हटाउने आयोजनाको तयारी छ। मुख्य संरचना भएको अम्बाथानसम्म डोजर पुर्‍याउन बाटो आवश्यक छ।

अम्बाथानमा रहेको २ सय मिटर लामो अस्थायी सुरुङमा बालुवा भरिएको छ। सबैभन्दा पहिले यो सुरुङ सफा गर्नु आवश्यक रहेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्त बताउँछन्। अस्थायी संरचनाहरू क्षतिग्रस्त भए पनि मुख्य सुरुङजस्ता स्थायी संरचना बाढीबाट प्रभावित नभएको आयोजनाको विश्वास छ। आयोजनाका महानिर्देशक माधवप्रसाद नेपालको नेतृत्वमा धर्मराज देवकोटा, देवीरमण अधिकारी र लोकनाथ भट्टराईको टोलीले बाढीपछि आयोजनाको मुख्य संरचनासम्म पुगी अवलोकन गरेको थियो। प्रवक्ता पन्तका अनुसार हेडवर्क्सको कभर ड्याम केही देखिँदैन। ‘मुख्य बाँध कंक्रिटको मुख्य संरचना पुरिएको मात्र छ, त्यसमा क्षति पुगेको छ भन्ने अनुमान हो’, पन्त भन्छन्, ‘त्यसको छेउमा इनटेकका केही पाट्र्स देखिन्छन्। त्यहाँजम्मा भएका ढुंगा, गिट्टी बालुवा नहटाएसम्म कति क्षति भएको छ भन्न सकिँदैन।’

मुख्य संरचना पुरिएको हुँदा मर्मत गर्दा हुन्छ वा पूरै बनाउनुपर्ने हो, अहिले नै यकिन गर्न नसकिने पन्तको भनाइ छ। बाटोको स्थायी संरचना बनाउन धेरै समय लाग्ने भएकाले वर्षायाम सकिएपछि अस्थायी रूपमा नयाँ बाटो बनाउने तयारी आयोजनाको छ। वर्षा भइरहेकाले मेलम्चीमा पानीको बहाव पनि धेरै छ। पानी धमिलो भएकाले यो समयमा योजना बनाउने र वर्षापछि पुनर्निर्माण सुरु हुने उनी बताउँछन्।

प्रवेशमार्गमा ५ वटा पुल रहेकोमा रातो पुलबाहेक सबै बगाएको छ। साथै, हेलम्बुको मेलम्ची खानेपानीको सिरमा रहेको नाकोतेको पुल लगायत तिम्बुपुल, फट्टेपुल, मेलम्चीपुल बाढीले बगाएको छ।
बाढीपछिको पुनर्निर्माणमा १ अर्ब ८८ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। आयोजना स्थलसम्म जान सक्ने अवस्था नभएकाले खर्च गर्नुपर्ने बजेट पनि अनुमानित नै हो। एसियाली विकास बैंकको मुख्य ऋणमा नेपाल सरकारको समेत लगानीमा मेलम्ची आयोजना सम्पन्न भएको थियो। क्षतिपछिको पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउन अर्थ मन्त्रालयसँग पत्राचार गरिएको आयोजनाले जनाएको छ। झण्डै २७ किलोमिटर लामो सुरुङमार्फत मेलम्ची खोलाको पानी काठमाडौंमा ल्याइएको थियो।

बाढीले ध्वस्त नै भएको प्रवेशमार्ग अन्तर्गतको पुल र सडकको स्थायी संरचना बनाउन १ अर्ब रुपैयाँभन्दा बढी लाग्छ। तर, स्थायी संरचना बनाउन वर्षौं लाग्ने भएकाले अहिलेलाई अस्थायी संरचना बनाएर हेडवर्क्ससम्म पुग्ने वैकल्पिक बाटो बनाउने तयारीमा आयोजना छ। अस्थायी संरचना बनाउन १० करोड रुपैयाँ लाग्ने अनुमान छ । ८ किलोमिटर अस्थायी सडक बनाउने, सम्याउने र पन्छाउने काम गर्न हेलम्बु गाउँपालिकालगायत स्थानीय सरकारसँगको सहकार्यमा काम अगाडि बढाइने भएको छ। अहिलेलाई अस्थायी संरचना बनाएर सडकको ट्र्याक खुलाउन ५ करोड र पुलको विकल्पमा हिमपाइप तथा ग्याबिन राखेर डोजर तार्नका लागि १ करोड २० लाख रुपैयाँ लाग्ने अनुमान छ।

यस्तै हेडवर्क्समा जम्मा भएका नदीजन्य पदार्थ फाल्न ३ करोड खर्च लाग्ने आयोजनाले जनाएको छ। नदीजन्य पदार्थ करिब २ किलोमिटरसम्म जम्मा भएको छ। त्यो खोल्न र पानी ल्याउने अस्थायी संरचना कफर ड्याम बनाउन ३ करोड लाग्ने प्रवक्ता पन्त बताउँछन्।

मुख्य हेडवर्क्स भने निर्माणको अन्तिम चरणमा छ। ८० करोड लागतमा निर्माणाधीन उक्त संरचनामा ६५ करोड रुपैयाँ खर्च भइसकेको र १५ करोड भुक्तानीको क्रममा रहेको पन्त बताउँछन्। हेडवर्क्स नबनिकनै पनि वैकल्पिक पानी वितरण प्रणालीअन्तर्गत मेलम्चीको पानी काठमाडौं पठाउने काम भएको थियो।

फिल्टर सिस्टम पनि पुरियो 
हेडवर्क्स मुख्य संरचना भए पनि यो एक सामान्य बाँध हो। त्यहाँ मुस्किलले २ मिटर पानी पनि जम्मा हुँदैन। यसमा एउटा बाँध बाँध्ने वा पानी डाइभर्सन गर्ने संरचना र अर्को मुख्य संरचना फिल्टर सिस्टम हुन्छ। खोलाको पानी बाँधेर टनेलमा हाल्नुभन्दा अघि फिल्टर गरेर मात्र खानेपानी पठाइने गरिन्छ। २७ किलोमिटरको टनेलमा फिल्टरबिना पानी पठाउने हो भने स–साना ढुंगा छिरेर पनि टनेल भरिन सक्छ। त्यसैले साना कण पनि नजाओस् भनेर फिल्टर सिस्टम जडान गरिएको थियो। पानी डाइभर्सनदेखि टनेलसम्म ५० मिटर बीचमा फिल्टर सिस्टम जडान गरिएको छ। अहिले सबै पुरिएको छ। १७ करोड लिटर दैनिक पानी जाँदा प्रतिसेकेन्ड २ हजार लिटर फिल्टर भएर टनेलमा पठाउने स्वचालित प्रणाली छ।

लेदोसहित आएको बाढीले निर्माण कार्यमा संलग्न मजदुरलाई पनि थियो। आयोजनामा ठूलो क्षति पुगे पनि तीन सातासम्म आयोजनाका आधिकारिक व्यक्ति क्षति पुगेको ठाउँमा पुगेका थिएनन्। यसप्रति स्थानीय जनप्रतिनिधिले आक्रोश पोखेका थिए। मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले आयोजना जीवित छ कि छैन भन्ने अभिव्यक्ति दिएका थिए। बाढीको २६ दिनपछि आयोजनाले प्रभावित मेलम्ची नगरपालिका र हेलम्बु तथा पाँचपोखरी थाङपाल गाउँपालिकालाई आर्थिक सहयोगको चेक हस्तान्तरण गरेको थियो। डेढ महिनाबित्दा पनि आयोजनाले बाढी आउनुको कारण र भविष्यमा त्यसको सम्भावित प्रभावका बारेमा अध्ययन थालेको छैन।

आयोजनाले काठमाडौं उपत्यकामा मेलम्चीबाट १७ करोड लिटर पानी पुर्‍याउने लक्ष्य लिएको थियो। याङ्ग्री र लार्के खोलाको पानी पनि मेलम्चीमा झारेर राजधानीवासीको  ५१ करोड लिटर पानी काठमाडौं ल्याउने लक्ष्य छ।

यसै वर्षको माघसम्म वैकल्पिक वितरण प्रणालीअन्तर्गत मेलम्चीको पानी काठमाडौंका जनतालाई पुर्‍याइने पन्त बताउँछन्। तर, मुख्य संरचनास्थल, मुख्य सुरुङमार्गमा ठूलो क्षति भएको अवस्थामा भने पानी वितरणको प्रक्रिया पछि धकेलिनेछ।
आयोजनाको सुरुका अध्ययनले नै यसलाई अत्यन्तै समस्याग्रस्त स्थानका रूपमा देखाएको भूगर्भविद् डा. रञ्जनकुमार दाहाल बताउँछन्। अन्नपुर्णपोष्ट बाट ।

समाचार वर्गहरू