८४ को निर्वाचनमा कांग्रेस एक्लै लड्ने,एक्जिट पोलिसीबारे संविधान संशोधन गर्दा छलफल हुने

118

काठमाडौं – नेपाली कांग्रेसले २०८४ को निर्वाचन एक्लै लड्ने गरी पार्टी संगठनलाई बलियो बनाएर लैजाने निर्णय गरेको छ।

सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकपश्चात बोल्दै प्रवक्ता प्रकाशशरण महतले महामन्त्री गगन थापाको प्रस्तावमाथि छलफल गर्दै संगठनलाई चलायमान बनाउने र सक्रिय सदस्य नवीकरण गरेर अगाडि बढ्ने निर्णय गरेको जानकारी दिए।

उनका अनुसार बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनलाई परिमार्जनसहित केन्द्रीय समितिबाट पारित गरिएको छ।

आइतबार बसेको बैठकले महामन्त्री गगन थापाको चुनाव अगाडि गठबन्धन गर्न नहुने प्रस्ताव पारित गरेको छ । बैठकले ८४ को निर्वाचनमा कार्यकर्ताले रुखमा भोट हाल्न पाउने अवस्थाको सिर्जना हुने निर्णय गरेको हो ।

‘हामी भविष्यमा हुने आवाधिक निर्वाचनहरूमा आफ्नै ताकतमा एक्लै लड्ने छौं र हाम्रा मतदातालाई नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौं’, बैठककाे निर्णयमा भनिएकाे छ ।

उनले ८४ मा गठबन्धन गर्ने/नगर्ने भन्ने विषयमा पार्टीलाई एकीकृत बढाएर अगाडि एक्लै जित्न सक्ने वातावरण बनाउन लाग्ने निर्णय भएको बताए। महतले संगठन अभियानलाई अगाडि बढाउने निर्णय गरेको बताए।

उनले महामन्त्री विश्वप्रकाश शर्माको पेश गरेको ‘एक्जिट पोलिसी’को विषयमा छलफल गर्दा अहिले निर्णय गर्नु आवश्यकता नभएको बैठकले ठानेको बताए। उनले संविधानको पनि विषयबस्तु भएकाले संविधान संशोधनका समयमा कसरी जान सकिन्छ छलफल गर्न सकिने निर्णय गरेको बताए।

शर्माको प्रतिवेदनमा ‘राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद ४ पटक हुन पाउने पद्धति बसाल्नुपर्छ। कांग्रेसले यो पद्धतिको अनुशरण गर्नुपर्छ, संवैधानिक बस्दोबस्तका लागि पनि कांग्रेसले यो प्रस्ताव पारित गर्नुपर्छ।’ भन्ने उल्लेख थियो।

कांग्रेसले एमालेसँग भएको ७ बुँदे सहमति अनुसार अगाडि बढ्नुपर्ने निर्णय गरेको जानकारी दिए।

समाचार वर्गहरू