(काठमाडौं) – व्यवसायीले लकडाउन अवज्ञा गर्ने चेतावनी दिएपछि उपत्यकाका तीनवटै प्रशासनले लकडाउन केही हदसम्म खुकुलो बनाउनको लागि सिफारिस गरेका छन् ।
बुधबार नेपाल ब्यबसायी महासंघले पसल खोल्ने निर्णय गरेसँगै उपत्यका अधिकांश पसल खुल्न थालेपछि परिस्थिति नियन्त्रणमा लिन तिनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त रुपमा आकस्मिक बैठक बसी राजधानीमा लकडाउन खुकुलो बनाउन उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेका क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) र उच्चस्तरीय समितिमा सिफारिस गरेको हो ।
काठमाडौं, भक्तपुर र ललितपुर प्रशासन सार्वजनिक यातायात, हवाई सेवा, शैक्षिक संस्था, सिनेमा हल, सभासम्मेलन तथा भेला हुन नपाइने गरी लकडाउन खुकुलो बनाउन तयार भएपछि ब्यापारी व्यवसायीहरुलाइ केही हदसम्म राहत पुगेको छ।
विद्यालयरविश्वविद्यालय, सिनेमा हल, पार्टी प्यालेस, हवाई सेवा, सभा-सम्मेलनजस्ता क्षेत्रलाई पूर्ण रुपमा नियन्त्रण गरी अन्यलाई स्वास्थ्य सावधानी अपनाएर सञ्चालन गर्नदिनु पर्ने निर्णय भएको बैठकमा सहभागी एक अधिकारीले बताए । तीनवटै जिल्ला प्रशासन, सुरक्षा अधिकारी, स्थानीय तहका प्रतिनिधिसहितको बैठकले गरेको निर्णय सीसीएमसी र उच्चस्तरीय समितिमा पठाउन काठमाडौं प्रशासनलाई जिम्मा दिइएको छ ।
प्रशासनले लकडाउनको विकल्प नखोजे अवज्ञा गरेर एकतर्फी व्यवसाय चलाउने चेतावनी व्यवसायीले दिएपछि प्रशासन बाध्य भएर लकडाउनलाई खुकुलो बनाउने निष्कर्षमा पुगेको हो ।