काठमाडौं — संघीय संसदको संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिले अतिक्रमणमा परेका नेपालका भूमि समेटेर तत्काल नक्सा प्रकाशन गर्न सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले अतिक्रमित भूमि समेटेर नयाँ नक्सा प्रकाशन गरी शिक्षण संस्था, कूटनीतिक नियोग र सरकारी कार्यालयमा राख्न सरकारलाई निर्देशन दिएको हो ।
समितिको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा, वन तथा वातवरणमन्त्री शक्ति बस्नेत, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भूमि, व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्याललाई समेत बोलाइएको थियो ।
समितिले दार्चुलाको खलंगाबाट कालापानीसम्म पुग्ने गोरेटो बाटो तथा थप निर्माणलाई प्राथमिकता दिने, भारतसँगको सीमाना कालापानीमा सुविधायुक्त प्रहरी चौकी निर्माण गर्ने लगायतका निर्देशन दिएको छ ।