अब सेकेन्ड जेनेरेसनको रिफर्म गर्छौँ : कांग्रेस सभापति गगन थापा

20

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको अर्थतन्त्रमा २०४८ देखि ०५१ सम्मको तीन वर्ष स्वर्णिम युग भएको टिप्पणी गरेका छन् । बिहीबार कांग्रेसको प्रतिज्ञापत्र माथिको छलफल कार्यक्रममा बोल्दै सभापति थापाले अब दोस्रो चरणको आर्थिक पुनरुत्थान चलाउने बताएका हुन् । ‘अर्थतन्त्रका बारेमा हाम्रा केही प्रतिज्ञाहरू छन् ।

२०४८ देखि ०५१ सम्म कांग्रेसले सरकार चलायो, त्यसलाई हामी स्वर्णिम काल मान्दछौँ । त्यो बेला सरकारले केही दह्रो पाइला चलायो,’ सभापति थापाले भने । त्यसबेला कांग्रेसले गरेका सही कामको कम्युनिस्ट शक्तिले विरोध गरेको गरेको उनले बताए । नेपालमा अहिले भएका सबै प्रगति त्यही कालको जगमा भएको उनले दाबी गरे  ‘पहिलो चरणमा हामीले गरेको सुधारपछि हामीले दोस्रो चरणको सुरुवात गर्न सकेनौँ । हामी एकदमै रक्षात्मक भयौँ,’ सभापति थापाले भने, ‘जसका कारण हाम्रा सुधारका काम रोकिए ।’

त्यो बेला जस्तो सुधारको गति कायम रहेको भए आज नेपालको प्रतिव्यक्ति आय २५ सय डलर पुगेको हुने उनले दाबी गरे । ‘सामान्य कागमा हिसाबकिताब गर्दा पनि निस्किन्छ । यत्रो घाटा हामीले बेहोरेका छौँ,’ उनले भने । अब त्यो घाटा पाँच वर्षभित्र क्षतिपूर्ति गर्नुपर्ने अवस्था रहेको पनि उनले बताए । ‘यो पाँच वर्षलाई हामी आर्थिक पुनरूत्थानको अर्धदशक, २०४८ देखि ०५१ आर्थिक जेनेरेसन रिफर्म भयो, अब सेकेन्ड जेनेरेसन रिफर्मबाट त्यो घाटालाई कभर गर्नेगरी नेपालीको प्रतिव्यक्ति आय २५ सय डलर पुर्‍याउँछौँ,’ उनले भने ।

त्यही अनुसार अर्थतन्त्रको आकार पनि बढाउने सभापति थापाले बताए । ‘त्यसका लागि करिब १३७ खर्ब रुपैयाँ परिचालन गर्नुपर्नेछ,’ उनले भने । त्यसका लागि कांग्रेसले ‘प्रो–ग्रोथ’, ‘प्रो–बिजनेस’ र ‘प्रो–सोसियल जस्टिज’को अवधारणामा काम गर्ने सभापति थापाले बताए । ‘त्यसका लागि कसैले हामीलाई तिम्रो पार्टी बढी निजीक्षेत्रमुखी भयो भनेर गाली गरे हामीलाई त्यो गाली स्वीकार्य छ,’ सभापति थापाले भने ।

समाचार वर्गहरू