‘अमिर शोभा शिक्षा तथा साहित्य पुरस्कार कोष’ स्थापना

7

काठमाडौं । साहित्य, कला, संस्कृति तथा मानवतावादी समाज सुधारका हिमायती एवं अरुणिमा शैक्षिक प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा संरक्षक स्वर्गीय बुद्धिबहादुर (अमिर) थापाको निधनको ४५ औँ दिनको अवसरमा श्रद्धाञ्जली तथा स्मृति सभा आयोजना गरिएको छ । प्रतिष्ठान अध्यक्ष भीमानन्द ढुङ्गानाको अध्यक्षतामा सञ्चालित उक्त कार्यव्रmम स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरी सुरु गरिएको थियो ।

सभाका सहभागीहरूले स्वर्गीय थापाको समाजप्रतिको समर्पण एवम् उनले शिक्षा तथा साहित्यका क्षेत्रमा पु¥याउनुभएको योगदानलाई स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए । अरुणिमा परोपकार प्रतिष्ठानका अध्यक्ष तथा गुठियार शम्भुप्रसाद बडालले स्वर्गीय थापाले संस्थामार्फत् शिक्षा र समाजसेवामा पु¥याउनुभएको योगदानलाई स्मरण गर्दै उनका आदर्शहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । त्यसैगरी, गुठियार संगीता हमाल एवम् अरुणिमा अलुम्नाइका अध्यक्ष जितेन्द्र श्रेष्ठले थापाको नेतृत्वदायी भूमिका र संस्थाप्रतिको समर्पणको प्रशंसा गरेका छन् ।

वक्ताहरूले स्वर्गीय थापालाई संघर्षशील, इमानदार तथा कर्तव्यनिष्ठ व्यक्तित्वका रूपमा चित्रण गर्दै उनले शिक्षा क्षेत्रको विकास, सामाजिक जागरण तथा मानव सेवामा खेलेको भूमिका अतुलनीय रहेको बताए । साहित्य सदन नेपालका अध्यक्ष प्राडा हेमनाथ पौडेल, शिक्षाविद् विश्वनाथ अर्याल तथा अर्थविद् प्राडा कैलाशनाथ प्याकुरेलले उनको विचार, आदर्श र जीवनदर्शन भावी पुस्ताका लागि प्रेरणाको स्रोत भएको उल्लेख गरेका थिए ।

यसैक्रममा डा सुरेश ढकाल र साहित्यकार कोषराज न्यौपानेले स्वर्गीय थापाको साहित्य, कला तथा सांस्कृतिक क्षेत्रमा रहेको योगदानको चर्चा गर्दै उनी बहुआयामिक व्यक्तित्व भएको धारणा व्यक्त गरेका छन् । गोकर्णेश्वर नगरप्रमुख दीपक कुमार रिसाल तथा समाजसेवी रामहरि रिजालले उनको सामाजिक कार्य तथा मानवीय सेवामा गरेको योगदानको प्रशंसा गरेका थिए । भैरव पुरस्कार गुठीका उपाध्यक्ष तथा गुठियार गोपाल प्रसाद बराल र रमेश विकल साहित्य प्रतिष्ठानका सचिव आलोक चालिसेले थापाको समाज सुधार र सांस्कृतिक संरक्षणमा रहेको सक्रियताको स्मरण गरेका छन् ।

पूर्व प्रशासक जनकराज ढुङ्गानाले उनीसँगका आफ्ना अनुभवहरू साझा गर्दै उनी एक प्रेरणादायी र दूरदर्शी व्यक्तित्व भएको उल्लेख गरेका छन् । प्रतिष्ठानका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले स्वर्गीय थापाको योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धासुमन व्यक्त गरेका छन् ।

यसैबीच, स्वर्गीय थापाकी सुपुत्री तथा प्रतिष्ठान गुठियार सङ्गीता थापाले आफ्ना पिताको स्मृतिमा ‘अमिर शोभा शिक्षा तथा साहित्य पुरस्कार कोष’ स्थापनार्थ ११ लाख ९४ हजार २ सय २६ रुपैयाँको चेक अरुणिमा परोपकार प्रतिष्ठानका अध्यक्ष शम्भुप्रसाद बडाललाई हस्तान्तरण गरेकीछिन ।

साथै, स्वर्गीय थापाका सुपुत्र सुशील थापाले परिवारको तर्फबाट सबैप्रति आभार व्यक्त गरको थिए । ब्रम्हकुमारी राजयोग उपसेवा केन्द्र, कुपन्डोलकी सञ्चालिका ब्रम्हकुमारी गङ्गाले आध्यात्मिक दृष्टिकोणबाट स्वर्गीय थापाको जीवनलाई स्मरण गर्दै उनको सकारात्मक सोच, सेवा भाव र मानवताप्रतिको समर्पण उच्च रहेको उल्लेख गरेकाी छिन् ।

समाचार वर्गहरू