अमेरिकामा टिकटक प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा

40

काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ भिडिओ साझेदार एप टिकटक प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । उनले पत्रकारहरूलाई शनिबारभित्रै कार्यकारी आदेशमा हस्ताक्षर हुन सक्ने बताएका थिए ।

चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले बनाएको टिकटक विश्वमै सबैभन्दा धेरै रुचाइएको एप्स हो । चिनियाँ प्यारेन्ट कम्पनीको स्वामित्वमा रहेको टिकटक किन्नका लागि अमेरिकी मल्टिनेसनल टेक्नोलोजी कम्पनी माइक्रोसफ्टले गर्ने प्रस्ताव पनि ट्रम्पको घोषणापछि खारेज हुने भएको छ ।

एयर फोर्स वानमा सवार पत्रकारहरूलाई ट्रम्पले भने, “जहाँसम्म टिकटकको कुरा छ त्यसलाई हामी अमेरिकामा प्रतिबन्ध लगाउँदैछौँ ।

हाल २ अर्ब पटक डाउनलोड भएको टिकटकका ८० करोड सक्रिय प्रयोगकर्ता छन् । निर्माता बाइटडान्सका लागि निकै ठूलो धक्का हुने ठानिएको यस एपको अमेरिकामा मात्र ८ करोड सक्रिय प्रयोगकर्ता छन् ।

टिकटकले अमेरिकी नागरिकको गोप्य विवरण सङ्कलन गरेको हुन सक्ने भन्दै अमेरिकी सुरक्षा अधिकारीहरूले चासो व्यक्त गरे पनि कम्पनीले भने अस्वीकार गर्दै आएको छ ।

यसबीचमा उक्त एपलाई माइक्रोसफ्ट कम्पनीले किन्नका लागि छलफल गरिरहेको समाचारहरू सार्वजनिक भएका थिए ।

तर ट्रम्पले त्यस्तो सम्झौतालाई कार्यान्वयन गर्न दिन सकिनेबारे समेत संशय व्यक्त गरेका थिए । टिकटकका प्रवक्ता हिलरी म्याक्वाइडले प्रतिबन्ध लगाउने पछिल्लो कदमबारे प्रतिक्रिया जनाउन अस्वीकार गरिन् ।

सन् २०१९ को सुरुदेखि टिकटक सबैभन्दा बढी डाउनलोड हुने एपहरूको सूचीमा नियमित परिरहेको छ । महामारीको लकडाउनका कारण यसका मानिसको आकर्षण ह्वात्तै बढेको छ ।

अहिले यो एप अनुमानित दुई अर्ब पटक डाउनलोड गरिएको छ र यसका ८० करोड सक्रिय प्रयोगकर्ता छन् । यो एप सबैभन्दा बढी भारतमा डाउनलोड भएको थियो तर प्रतिबन्धका कारण अहिले चीन र अमेरिका यसको सबैभन्दा ठूलो बजार हो।

समाचार वर्गहरू