आज दिउँसो ३ बजेर ३४ मिनेटमा खण्डग्रास चन्द्रग्रहण लाग्दै, नेपालमा कति बेला देखिन्छ ?

7

काठमाडौं । आज चन्द्रग्रहण लाग्ने भएको छ। ग्रस्तोदित खण्डग्रास अर्थात उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने चन्द्रग्रहण लाग्ने भएको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले दिउँसो ३ बजेर ३४ मिनेटमा चन्द्रमालाई स्पर्श गर्नेछ।

चन्द्रग्रहण स्पर्श हुँदा खग्रास भए पनि नेपालमा चन्द्रोदय भएपछि भने खण्डग्रास देखिने समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए। बेलुकी ६ बजेर ३ मिनेट जाँदा चन्द्रोदय हुँदा नै ग्रस्तोदितखण्डग्रास भएकै अवस्थामा उदय हुने छ। बेलुकी ७ बजेर २ मिनेटमा चन्द्रग्रहण सकिन्छ। नेपालबाट करिब एक घण्टा चन्द्रग्रहण देखिने समितिले जनाएको छ।

मौसमले साथ दिएका खण्डमा देशका सबै भागबाट उक्त खण्डग्रास चन्द्रग्रहण प्रष्ट देख्न सकिने खगोलको क्षेत्रमा काम गर्दै आएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ। चन्द्रग्रहण हेर्न कुनै विशेष उपकरणको आवश्यकता पर्दैन।

यो ग्रहण यस वर्ष नेपालबाट दोस्रो पटक देखिन लागेको हो। यसअघि गत भदौ २२ गते खग्रास चन्द्रग्रहण लागेको थियो। चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ। २०२६ मा विश्वभर लाग्ने दुई चन्द्रग्रहण र दुई सूर्यग्रहणमध्ये नेपालबाट भने यो एकमात्र ग्रहण देख्न सकिनेछ ।

चन्द्रग्रहण कसरी लाग्छ भन्नेबारे खगोलविद्हरूका अनुसार पृथ्वीले सूर्यको परिक्रमा गरिरहँदा चन्द्रमाले पनि पृथ्वीलाई घुमिरहेको हुन्छ । जब पृथ्वी सूर्य र चन्द्रमाको बीचमा पर्छ, पृथ्वीको छायाँ चन्द्रमामा पर्छ । चन्द्रमाको आफ्नै प्रकाश नहुँदा सूर्यको प्रकाश रोकिएर चन्द्रमा आंशिक रूपमा ढाकिन्छ, जसलाई चन्द्रग्रहण भनिन्छ ।

यद्यपि हरेक पूर्णिमामा चन्द्रग्रहण लाग्दैन । चन्द्रमाको कक्षा पृथ्वीको कक्षासँग करिब ५ डिग्री झुकेको हुने भएकाले तीनै आकाशीय पिण्ड सधैं एउटै सीधा रेखामा पर्दैनन् । चन्द्रमाको कक्षाले पृथ्वीको कक्षीय सतहलाई दुई स्थानमा काट्छ, जसलाई प्राचीन ज्योतिषमा राहु र केतु भनेर चिनिन्छ ।

समाचार वर्गहरू