आजका कर्मले भोलि आफैंलाई लज्जित नपारोस् : कांग्रेस प्रबक्ता देवराज चालिसे

68

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको इतर समूहले राखेको भेलालाई लक्षित गर्दै यसले न्याय नगर्ने प्रतिक्रिया दिएका छन् । काठमाडौंको धुम्बाराहीस्थितहोटल स्मार्टमा कांग्रेस संस्थापनइतर समूहको बैठक जारी रहँदा चालिसेले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीभित्र असहमति मर्यादित संवादबाट बाहिर गएर गर्दा पार्टीलाई न्याय नहुने बताएका हुन् ।

‘प्रजातान्त्रिक पार्टीमा फरक मत र असहमति व्यक्त गर्नु स्वाभाविक मानीन्छ। यसले नै संस्थागत निर्णयहरूलाई थप परिपक्व र बलियो बनाउँछ,’ उनले भने, ‘तर जब यो असहमति पार्टीभित्रको मर्यादित संवादबाट बाहिर निस्केर आत्मकेन्द्रित, समानान्तर गतिविधिमा रूपान्तरण हुन्छ, तब यसले पार्टीलाई न्याय गर्दैन ।’

उनले पार्टीको महाधिवेशन नजिकिएको भन्दै यो समय आफ्ना स्पष्ट योजनाहरू सकारात्मक ऊर्जासहित कार्यकर्ताको मन जित्नतर्फ लाग्नु उपयुक्त हुने पनि बताएका छन् । उनले नेताहरूलाई पार्टी अनुशासन पनि स्मरण गराएका छन् ।

‘महाधिवेशन नजिकिँदै छ, यो समयमा आफ्ना स्पष्ट योजना, ठोस तर्क र सकारात्मक ऊर्जासहित कार्यकर्ताको मन जित्न लाग्नु सवैका लागि श्रेयस्कर हुन्छ,’ उनले थप भनेका छन्, ‘नेतृत्वको बाटो विधानअनुसार खुला छ । पार्टीको अनुशासन सबैले पालना गर्नुपर्छ । आजका कर्मले भोलि आफैंलाई लज्जित नपारोस् भन्ने सोचका साथअघि बढौं ।’ होटल स्मार्टमा कांग्रेसको पूर्णबहादुर खड्का, शेखर कोइराला समूहका नेताहरूको भेला अहिले पनि जारी छ ।

समाचार वर्गहरू