आश्विन शुक्ल सप्तमी, घरघरमा फूलपाती भित्र्याइँदै।

14

काठमाडौं – प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याई मनाइँदैछ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवासमेत भित्र्याइन्छ ।

दसैँको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवम् दशमी तिथिको विशेष महत्व हुने शास्त्रीय मान्यतानुसार फूलपातीको आफ्नै विशिष्ट महत्व रहेको र दसैँका लागि पूजा सामग्री स्वरूप फूलपाती भित्रयाउने कार्य गरिने नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने जनाइएको छ ।
हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म दसैँघरका पूजारी सहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरदेखि काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ । जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्यान्डबाजा, पञ्चेबाजा, सिङ्गारिएका कल्स्यौंडी र सांस्कृतिक नाचगान सहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ ।

राजतन्त्र रहुन्जेल हनुमानढोका दरबारको दसैंघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्रको स्थापनापछि भने संस्कृतिमन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक सरस्वती सिंहले जानकारी दिए । यस वर्षको फूलपाती बुधबार अपराह्न साढे चार बजे भित्र्याइने कार्यक्रम रहेको जनाइएको छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने दसैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्छ । आजैका दिनबाट सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेसा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आआफ्नो घर फर्कने क्रम अझ तीव्र हुने गर्छ । फलस्वरूप नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गेपिङ र रोटे पिङले दसैंको रौनकतालाई अझ बढाउने गर्छ ।

समाचार वर्गहरू