इरानले २०२६ फिफा विश्वकपमा बहिष्कार गर्ने : खेलकुदमन्त्री अहमद

6

काठमाडौँ । इरानका युवा तथा खेलकुदमन्त्री अहमद दुन्यामालीले देशको वर्तमान अवस्था हेर्दा इरानले २०२६ फिफा विश्वकपमा सहभागी हुन सक्ने स्थिति नरहेको बताएका छन् । विश्वकप जुन ११ बाट अमेरिका, क्यानडा र मेक्सिकोमा सुरु हुँदैछ । इरानले समूह चरणमा तीन खेल खेल्ने तालिका रहेको छ । टोलीले जुन १५ मा लस एन्जलसमा न्युजिल्याण्डसँग, जुन २१ मा बेल्जियमसँग र जुन २६ मा सियाटलमा इजिप्टसँग प्रतिस्पर्धा गर्ने कार्यतालिका छ ।

तर, अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरी सर्वोच्च नेता अली खामेनीको हत्या गरेपछि इरानको विश्वकप सहभागिता अनिश्चित बनेको हो । त्यसको प्रतिक्रियास्वरूप इरानले इजरायल तथा अमेरिकी सैन्य आधार रहेका अन्य देशतर्फ मिसाइल र ड्रोन प्रहार गरेको थियो । आईआरआईबी स्पोर्ट्स नेटवर्कसँगको अन्तर्वार्तामा मन्त्री दुन्यामालीले भने, ‘यो भ्रष्ट सरकारले हाम्रो नेताको हत्या गरेको अवस्थामा हामीसँग विश्वकपमा सहभागी हुने कुनै पनि उपयुक्त अवस्था छैन ।

हाम्रा खेलाडी सुरक्षित छैनन् र प्रतियोगितामा सहभागी हुने वातावरण बनेको छैन ।’ उनले पछिल्लो आठ–नौ महिनामा दुई वटा युद्ध भएको र हजारौँ इरानी नागरिक मारिएको पनि बताए । ‘त्यसकारण विश्वकपमा सहभागी हुने सम्भावना हामीसँग छैन,’ उनले भने । यसअघि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट भएको जानकारी दिँदै इरानलाई विश्वकपमा सहभागी हुन अमेरिका स्वागत गर्न तयार रहेको बताएका थिए ।

इन्स्टाग्राममा इन्फान्टिनोले लेखेका थिए, ‘हामीलाई अहिले झन् बढी विश्वकपजस्तो कार्यक्रम चाहिएको छ जसले मानिसलाई एकताबद्ध बनाउँछ । फुटबलले विश्वलाई जोड्छ ।’ उता इरान फुटबल महासंघका अध्यक्ष मेहदी ताजले पनि इरानको विश्वकप सहभागितामाथि प्रश्न उठाएका छन् । इरानको महिला राष्ट्रिय टोलीका छ सदस्यले सुरक्षाको चिन्ताका कारण अष्ट्रेलियाबाट ‘मानवीय भिसा’ पाएका थिए । एसियन कपबाट बाहिरिएपछि बाँकी इरानी खेलाडी मंगलबार अष्ट्रेलियाबाट स्वदेश फर्किएका छन् ।

अष्ट्रेलियाका गृहमन्त्री टोनी बर्कका अनुसार सात जनालाई शरण दिइएको थियो, तर एक खेलाडीले पछि आफ्नो निर्णय बदल्दै स्वदेश फर्कने निर्णय गरेकी थिइन् । ताजले भने, ‘यदि विश्वकपमा पनि यस्तै अवस्था हुने हो भने टोलीलाई अमेरिकामा पठाउने निर्णय कुनै पनि समझदार व्यक्तिले स्वीकार गर्दैन ।’

यदि इरानले विश्वकपबाट औपचारिक रूपमा नाम फिर्ता लिएमा फिफासँग प्रतिस्थापन टोली छनोट गर्ने अधिकार हुन्छ । सम्भावित रूपमा एसियाली फुटबल महासंघ ९एएफसी० भित्रकै कुनै टोलीलाई मौका दिन सकिने अनुमान गरिएको छ । इराक वा संयुक्त अरब इमिरेट्स विकल्प हुन सक्ने चर्चा छ, तर फिफाका नियमअनुसार अन्य महासंघबाट पनि टोली छनोट गर्न सकिन्छ । यद्यपि अन्तिम निर्णय इरानको फुटबल महासंघले गर्नेछ ।

हालका लागि फिफाले भने इरानले न्युजिल्याण्ड, बेल्जियम र इजिप्टसँग तय भएका खेल खेल्ने अपेक्षा कायम राखेको छ । यदि इरानले विश्वकपमा सहभागी हुन अस्वीकार गर्‍यो भने त्यसले गम्भीर परिणाम ल्याउन सक्छ । सन् १९८२ को विश्वकप छनोटमा इरानले कुवेतसँग खेल्न अस्वीकार गरेपछि उनीहरू त्यस प्रतियोगिताबाट बाहिरिएका थिए र पछि १९८६ विश्वकपबाट फिफाले प्रतिबन्ध लगाएको थियो । हालका लागि फिफा प्रतीक्षामा रहेको छ । यस महिनाको अन्त्यतिर हुने प्ले–अफ खेलपछि अन्तिम रूपमा विश्वकपमा छनोट भएका टोलीहरूको सूची स्पष्ट हुनेछ ।

समाचार वर्गहरू