उपराष्ट्रपति र युनान प्रान्तका गर्भनर बीच भेटवार्ता

14

(काठमाडौं) – उपराष्ट्रपति नन्दबहादुर पुन र चीनको युनान प्रान्तका गर्भनर रुएन चेङगफाबीच भेटवार्ता भएको छ ।

नेपाल भ्रमणमा रहेका यूनानको गर्भनर चेङगफाले सोमबार अपरान्ह उपराष्ट्रपति भवन हरितगृहमा उपराष्ट्रपतिसँग शिष्टाचार भेट गरेका हुन् । भेटमा नेपाल–चीन तथा नेपाल र यूनान प्रान्तबीचको सम्बन्ध, सहयोग र सहकार्यका विविध विषयमा छलफल भए ।

उपराष्ट्रपति पुनले यूनानका गर्भनर चेङगफासँगको भेटमा शताब्दीऔँ पुरानो नेपाल–चीनबीचको मैत्री सम्बन्ध अहिले नयाँ युगमा प्रवेश गरेको बताए ।

‘चीनका महामहिम राष्ट्रपति सी चिनफिङनको नेपाल भ्रमणपछि नेपाल चीन सम्बन्धले नयाँ उचाई हासिल गरेको मात्रै छैन, नयाँ युगमा प्रवेश गरेको छ,’ उनले भने, ‘राष्ट्रपति सीको भ्रमणको क्रममा दुई देशबीच भएका संझौताहरु छिट्टै कार्यान्वयन हुने र त्यसबाट दुवै देशलाई लाभ हुने हाम्रो विश्वास छ ।’

उपराष्ट्रपति पुनले नेपाल एक चीन नीतिप्रति प्रद्धिबद्ध रहेको उल्लेख गर्नुहुँदै नेपाली भूमिमा चीन विरोधी कुनै पनि गतिविधि सह्य नहुने बताए । चीनले अगाडि सारेको बेल्ट रोड इनिसियटिभ (बीआरआई) मा नेपालले सहभागीता जनाएको र यसबाट प्रयाप्त लाभ लिन चाहेको उनको भनाई छ ।

उपराष्ट्रपति पुनसँगको भेटमा यूनानका गर्भनर छङफाले चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण दुई देशबीचको सम्बन्धमा ऐतिहासिक कोशेढुंगा भएको बताए । उनले नेपाल–चीन तथा नेपाल र यूयान प्रान्तबीचको सम्बन्ध घनिष्ठ रहेको समेत बताए ।

गभर्नर चेङगफाले नेपालको विकास र समृद्धिको यात्रामा चीनको सधै साथ रहने बताए । चीनले नेपालसँग व्यापार, ऊर्जा, पर्यटन र कृषि क्षेत्रमा बलियो सहकार्य गर्न चाहेको उनले बताए ।

उनले भने, ‘यसपाली म मेरो टोली लिएर नेपाल भ्रमणमा आएको छु । नेपालसँग अर्थतन्त्र, व्यापार, उर्जा, पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले भ्रमणमा आएको हुँ ।’

समाचार वर्गहरू