एनआरएन ओसियाना क्षेत्रीय संयोजकमा होम पाण्डेको उम्मेदवारी

17

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि आज काठमाडौंमा निर्वाचन हुँदैछ । संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुन लागेको हो । निर्वाचन कमिटीका सदस्य कुलप्रसाद पाण्डेका अनुसार मंगलबार रातिबाट मनोनयन दर्ता खुल्ला गरिएको छ ।

मनोनयन दर्ता बुधबार बिहान साढे १० बजे सम्म खुल्ला रहने छ । पाण्डेका अनुसार ४२ पदमा मतदान हुने छ । बुधबार विद्युतीय मेशिनबाट मतदान हुने भन्दै मतदान सकिएको एक घण्टामै नतिजा सार्वजनिक हुने उनले दाबी गरे । गैर आवासीय नेपाली संघ ८० भन्दा बढी मुलुकमा फैलिएको दावी गरिए पनि ४९ देशबाट आएका झण्डै २५ सय प्रतिनिधिहरुले नयाँ नेतृत्व चयनका लागि मतदानमा भाग लिँदैछन् ।

निर्वाचन कमिटी मतदाताहरुको अन्तिम नामावली पनि आजै प्रकाशित गर्ने जनाएको छ । संघको नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य प्यानल सहित चुनावी मैदानमा उत्रिएका छन् ।

अध्यक्षका प्रत्यासी पन्तले पनि आफ्नो प्यानल घोषणा गरिसकेका छन् । दुई पटकसम्म उपाध्यक्षमा बनेका जर्मनी निवासी व्यवसायी पन्तले यसपटक अध्यक्षको दाबी गरेका छन् । पन्त समूहबाट ५ उपाध्यक्षमा डा. बद्री केसी (रसिया), हिक्मत थापा (अफ्रिका), सोनाम लामा (अमेरिका), अर्जुनकुमार श्रेष्ठ (बेल्जियम) र धर्मराज अधिकारी (अष्ट्रेलिया) छन् ।

एनआरएनए विधानअनुसार २ जना सचिवमा निर्वाचित हुनेछन् । पन्त समूहबाट कोषाध्यक्षमा जापानका महेशकुमार श्रेष्ठले उमेदवारी घोषणा गरेका छन् ।

को हुन होम पाण्डे  ?

पन्तको समूहबाट अष्ट्रेलियाबाट होम पाण्डेले ओसियाना क्षेत्रीय संयोजकमा उम्मेदवारी दिंदैछन् । २६ वर्षअगाडि देखि अष्ट्रेलियामा बसोबास गर्दै आएका पाण्डे एनआरएनको गठनदेखि नै सक्रिय छन् । यसअघि उनी अष्ट्रेलियाको आइसीसी समदस्य थिए । पाण्डे सूचना प्रविधि विशेषज्ञ हुन् ।

अष्ट्रेलियाको चर्चित मानिने कमनवेल्थ बैंकको सिनियर आइटी म्यानेजरका रुपमा उनले सेवा गर्दै आएका छन् । संभवतः यति उच्च पदमा पुग्ने उनी नै पहिलो नेपाली हुन् । मलेसिया, कम्बोडिया लगायतका एशियाली मुलुकमा टेलिकम्युनिकेसनको क्षेत्रमा कन्सलट्यान्टको रुपमा काम गरेको अनुभव पनि पाण्डेसँग छ ।

एनआरएनए अष्ट्रेलियामा सुरुदेखि नै सक्रिय रुपमा काम गर्दै आएका पाण्डेको जन्म अर्घाखाँचीको बल्कोट (हाल छत्रदेव गाउँपालिका) मा भएको हो । नेपालले पहिलो पटक सन् १९९८ मा मूल्य अभिबृद्धि कर (भ्याट) लागू गर्दा आइटी विशेषज्ञको रुपमा उनले काम गरेका थिए ।

उनीसँग साउथ वेल्स राज्यको चुनाव आयुक्त भएर सफलतापूर्वक निर्वाचन सम्पन्न गरेको अनुभव छ । विगत दुई वर्षमा ओसेनिया क्षेत्रमा नलेज कन्फरेनस र रिजनल मिटिङ र अस्ट्रेलिया तथा न्यूजील्याण्डको एनसीसी निर्वाचनमा पनि उनले विशेष भूमिकाको साथ काम गरेका थिए । पाण्डेले भने, ‘बलियो, पारदर्शी र संस्थागत एनआरएनए बनाउने मेरो अभियान हुनेछ ।’

एनआरएनएसँगको विगत लामो समयदेखिको संलग्नता र एक प्राविधिकको हैसिएतले ओसेनिया क्षेत्रका हजारौँ नेपालीको भावनालाई कदर गर्दै रिजनल संयोजक भएर आफूले सिकेको ज्ञान, सीप र दक्षताको आधारमा नेपाल र यहाँका नेपाली समुदायको हितमा केही योगदान गर्नका लागि मैले रिजनल कोर्डिनेटरको रूपमा आफ्नो उम्मेदवारी दिएको पाण्डे बताउँछन् ।

एनआरएनए अष्ट्रेृलियाको बेवसाइट, डाटाबेस लगायतका सबै काम गरी नेपालीबीच सूचना प्रविधिको माध्यमबाट पहुँच विस्तार गर्न पाण्डको महत्वपूर्ण योगदान छ । एनआरएनए अष्ट्रेलियामा विद्युतीय मतदानबाट नेतृत्व चयन गर्ने प्रक्रियाको सुरुवात पनि उनकै संयोजकत्वमा भएको थियो ।

ओसेनिया क्षेत्रीय संयोजकका उम्मेदवार पाण्डेले नेपाली उत्पादन र सेवाको प्रबद्र्धन गर्ने एजेन्डा अगाडि सारेका छन् । गैरआवासीय नेपाली नेपालको विकास गर्न चाहन्छन्, त्यसका लागि नागरिकता आवश्यक पर्छ । त्यसको लागि छिटोछरितो रुपमा दोहोरो नागरिकता पाउनुपर्ने कुरालाई कार्यान्वयनमा लैजाने जस्ता कुराहरु उनको मुख्य एजेन्डा रहेका छन् ।

समाचार वर्गहरू