काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले सामूहिक रुपमा राष्ट्रिय फुटबल टोलीको कोरोना परीक्षण गर्ने भएको छ । एन्फाले परिक्षणको तयारी समेत अन्तिम चरणमा पुर्याएको जनाएको छ ।
भदौ १ गतेबाट मैदान फर्कने तयारीमा रहेको टोलीका खेलाडीको परिक्षण दुई चरणमा गरिने प्रवक्ता किरण राईले बताए । त्यस्तै खेलाडीको प्रशिक्षण पनि समूह बनाएर गरिने छ ।
एक दुई दिन भित्रै सबै खेलाडीको परिक्षण गरिने राईले जानकारी दिए । एन्फाले सबै खेलाडीको कोरोना परीक्षण पाटन अस्पतालमा गर्ने जनाएको छ । राष्ट्रिय टोलीका खेलाडीहरू अहिले क्वारेन्टाइनमा छन् ।
११ जना खेलाडी होटलमा र उपत्यकाका २२ खेलाडीहरू घरमा नै छन् । एन्फाले ललितपुरको सातादोबाटोस्थित होस्टेल खाली गराएर निर्मलीकरण गर्ने कामसमेत गरिरहेको छ ।
सोहि स्थानमा खेलाडीले विभिन्न समूहमा रहेर अभ्यास गर्नेछन् । तीन वटा समूह बनाएर प्रशिक्षण गराउने एन्फाको तयारी छ ।