एमाले संसदीय दलका नेता बादललाई कार्यवाहक अध्यक्षको पनि जिम्मेवारी

76

काठमाडौं : नेकपा (एमाले) संसदीय दलको नेता चयन भएका रामबहादुर थापा ‘बादल’ ले कार्यवाहक अध्यक्षको जिम्मेवारी समेत पाएका छन् ।

संसदीय दलका नेता चयन भएका बादललाई पार्टीले कार्यवाहक अध्यक्षको समेत जिम्मेवारी दिने निर्णय गरेको एमाले नेता ऐनबहादुर महरले जानकारी दिएका छन् ।

संसदीय दलको नेता हुँदै कार्यवाहक अध्यक्ष बनेका बादल समानुपातिक सांसद हुन् । माओवादी पृष्ठभूमिका थापा पछिल्लो समय अध्यक्ष ओलीका विश्वासपात्र बनेका छन् ।

एमाले निर्वाचनमा संसदीय दलको नेताका लागि एक जनाको मात्रै उम्मेदवारी परेपछि बादल निर्विरोध निर्वाचित भएका थिए । एमाले संसदीय दलको बैठकमा बादललाई संसदीय दलको नेता चयन गर्ने तयारी गरिएको थियो । तर, सांसद सुहाङ नेम्वाङले पनि दाबी गरेका थिए ।

संसदीय दलको बैठकमा सहमति नजुटेपछि निर्वाचन प्रक्रिया थालिएको थियो । एमालेले केन्द्रीय सदस्य निरज आचार्यको संयोजकत्वमा गठित निर्वाचन कमिटी चुनावी प्रक्रिया सुरु गरेको थियो । तर, अन्तिममा आएर सुहाङले उम्मेदवारी दिएनन् । उनी नै बादलको प्रस्ताव बनेका थिए । प्रतिनिधि सभामा एमालेका २५ सांसद छन् ।

समाचार वर्गहरू