ओलीले चीनसँग मैले गरेका समझदारीको फोटोकपी बाँडेर भ्रम छरे – प्रचण्ड

14

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा सिन्को पनि नभाँचेको बताएका छन्।

आफू प्रधानमन्त्री भएका बेला चीनसँग गरेका बिआरआई सहमति र समझदारीलाई अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले फोटोकपी गरेर प्रचार गरिराखेको उनको आरोप छ।

मंगलबार चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीको चीन भ्रमणमा कुनै नयाँ समझदारी नभएको दाबी गरे।

‘नेपाल र नेपाली जनताको वृहत्तर हितको निम्ति गरिएका समझदारी र सहमतिहरू दुरगामी थिए। मलाई अहिले खुसी पनि लाग्छ, अलिअलि दया पनि लाग्छ हाम्रो अहिलेका प्रधानमन्त्रीलाई देख्दा। मैले गत साल गरेका सबैलाई फोटोकपी गरेर मैले गरेको भनेर प्रचार गरिराख्नु भएको छ। ती सबै गत साल गरिएका सहमति र समझदारी हुन्। केपी ओलीले नयाँ भनेको एउटा सिन्को भाँचेको मैले देखेको छैन।’

आफूले गरेको कामलाई प्रधानमन्त्री ओलीले मान्यता दिएकोमा आफूलाई खुसी भने लागेको प्रचण्डको भनाइ छ। ‘तैपनि मलाई गर्व छ मैले गरेका कामलाई केपीजीले मान्यता दिए नि। त्यसका लागि उहाँलाई धन्यवाद छ,’ प्रचण्डले भने।

समाचार वर्गहरू