काठमाडौं – इरानले सोमबार राति कतारको दोहास्थित अमेरिकी सैन्य अड्डा (अल उदिद एयर बेस)लक्षित मिसाइल हमला गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यसलाई अमेरिकाविरुद्ध इरानको ‘प्रतीकात्मक’ आक्रमण भनेका छन् । त्यसैले तनाव नबढ्ने उनीहरूको आकलन छ ।
कतारमा करिब साढे तीन लाख नेपाली कार्यरत छन् । इरानको आक्रमणपछि उनीहरूमा डर र त्रास बढेको छ । कतारस्थित नेपाली दूतावासले उनीहरूलाई सतर्क रहन सूचना जारी गरेको छ ।
कतारको अल उदिद एयर बेसमा रहेको अमेरिकी सेनामाथि आक्रमण गरेको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजिसी)लाई उद्धृत गर्दै तस्निम समाचार एजेन्सीले जनाएको छ । अमेरिकाले इरानका परमाणु केन्द्रमा हवाई हमला गरेपछि इरानले मिसाइलमार्फत कतार र इराकमा रहेका अमेरिकी सैन्य शिविरमा जवाफी आक्रमण गरेको हो । मिसाइल प्रहारमा कुनै मानवीय क्षति भएको छैन ।
दोहास्थित आफ्नो हवाई आधारमा इरानले आक्रमण गरेको अमेरिकाले पुष्टि गरेको छ । कतारले पनि इरानी हमला भएको र आफ्नो वायु रक्षा प्रणालीले त्यसलाई असफल पारेको जनाएको छ । आक्रमणपछि कतारले आफ्नो हवाई सेवा बन्द गरेको छ । मध्यपूर्वका अन्य देशले पनि केही समय हवाई सेवा बन्द गरेका थिए ।
सोमबार कतारको राजधानी दोहामा ज्वालाहरू देखिएका र सुरुमा यो हवाई रक्षा प्रणाली हो वा क्षेप्यास्त्र हो भनेर पत्ता लगाउन कतारलाई गाह्रो परेको अलजजिराले उल्लेख गरेको छ । मिसाइल प्रहारपछि ठुलो विस्फोट पनि सुनिएको थियो । तस्निम समाचार संस्थाका अनुसार इरानले उक्त कारबाहीलाई अमेरिकाविरुद्ध विजयको घोषणा भनेको छ ।
इरानी सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले अल उदिद हवाई अड्डामा गरिएको क्षेप्यास्त्र आक्रमण कतारको आवासीय क्षेत्रहरूभन्दा टाढा भएको बताएको छ । इरानको पछिल्लो कदमले कतारसँगको सम्बन्धमा कुनै परिवर्तन नआउने तेहरानले जनाएको छ । ‘मित्रवत् र भ्रातृ राष्ट्र कतार र यसका महान् जनतालाई कुनै खतरा छैन र इस्लामिक गणतन्त्र इरान कतारसँग न्यानो र ऐतिहासिक सम्बन्ध कायम राख्न र निरन्तरता दिन प्रतिबद्ध छ,’ परिषद्ले एक विज्ञप्तिमा भनेको छ । कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले सामाजिक सञ्जाल एक्समार्फत कतारमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा भएको इरानी आक्रमणको निन्दा गरेका छन् । ‘हामी यसलाई कतारको सार्वभौमिकता, यसको हवाई क्षेत्र, अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको चार्टरको गम्भीर उल्लंघनका रूपमा लिन्छौँ,’ उनले भनेका छन् । प्रवक्ताका अनुसार कतारको हवाई रक्षा प्रणालीले इरानी मिसाइलहरू रोक्न सफल भएको छ ।
इरानबाट इराकमा रहेका अमेरिकी सैन्य अड्डालाई पनि लक्षित गरी मिसाइल प्रक्षेपण गरिएको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । अमेरिकाले ती मिसाइलहरूको ट्र्याकिङ गरिरहेको जनाइएको छ । तर, इराकको कुन आधार शिविरलाई हमला गरिएको छ भन्नेबारेमा केही खुलाइएको छैन । इरानी आक्रमण र अमेरिकाले चाल्ने कदमबारे अमेरिकी रक्षामन्त्री पिट हेगसेथ र जोइन्ड चिफ अफ स्टाफका अध्यक्ष ड्यान केनले घटनाक्रमलाई नजिकबाट निहालिरहेको अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ । तेहरानबाट अन्य हमला हुने आशंकामा दोहाको सशस्त्र सेनाले सतर्कता र सावधानी अपनाएको छ । सोमबारको हमला खाडीमा रहेका अमेरिकी अड्डाहरूविरुद्ध इरानी प्रतिशोधको सुरुवात मानिएको छ र यसले मध्यपूर्वमा थप अशान्ति चर्किने संकेत गरेको छ ।
इरानी आक्रमणको अमेरिकाले कस्तो प्रतिक्रिया दिने हो भन्ने चासो छ । इरानी हमलालगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्च सुरक्षा अधिकारीसँग परामर्श थालेका छन् । यद्यपि, इरान यसभन्दा अगाडि नबढे जवाफी कारबाही नगर्ने अमेरिकी अधिकारीलाई उद्धृत गर्दै कतिपय अन्तर्राष्ट्रिय समाचार संस्थाले प्रसारण गरेका छन् । अल उदिद मध्यपूर्वमा रहेको सबैभन्दा ठुलो अमेरिकी सैन्य अड्डा हो, जुन १९९६ मा स्थापित भएको थियो । यस अड्डामा लगभग १०० विमानका साथै ड्रोनहरू पनि छन् । करिब १० हजार सैनिक बस्ने यो अड्डाले अमेरिकी केन्द्रीय कमान्डका लागि अग्रणी मुख्यालयको रूपमा काम गर्दछ । हालैमा दिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कतार भ्रमणका क्रममा अल उदिद सैन्य अड्डा गएका थिए । नयाँपत्रिका दैनिक