सिन्धुपाल्चोक । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरु कोण सभा र मतदाता भेटघाटमा व्यस्त छन् । सिन्धुपाल्चोक क्षेत्र नं २ मा पनि अन्यमा झैं चुनावी चहलपहल तीव्र बनेको छ । सिन्धुपाल्चोक २ मा कांग्रेसबाट वंशलाल तामाङ चुनावी मैदानमा छन् । उनी अहिले घरदैलोमा मतदाता भेटघाट तथा सुझाव संकलनमा व्यस्त छन् ।
सिन्धुपाल्चोक कृषिका लागि लागि प्रचुर सम्भावनायुक्त क्षेत्र भएकाले हामीले गर्ने विकास, लागु गर्ने कार्यक्रम कृषि र कृषकमैत्री हुनुपर्ने भन्दै किसानको समस्यालाई सम्बोधन गर्न उनी लागिरहेका छन् । सहज र सुलभ ऋण, लगानीको वातावरण, सिँचाइको व्यवस्था, उत्पादनको व्यवस्थित संकलन, भण्डारण र उचित बजारिकरणका लागि हामीले स्पष्ट योजना सहितको संकल्प लिएको उनले बताएका छन् ।
आधुनिक कृषि उपकरणमा अनुदान (ट्र्याक्टर, हार्भेस्टर, ड्रिप सिँचाइ) को व्यवस्था, उन्नत बीउ, मल र प्रविधिको सहज उपलब्धता, सिँचाइ विस्तार ९साना–मझौला सिंचाइ आयोजना०लाई प्राथिमिकतामा राखेर उनले किसानलाई आर्थिक रुपमा अब्बल बनाउने नीति अघि सारेका छन् ।
उत्पादन बढाउने र लागत घटाउने उद्देश्यका साथ किसानलाई गाउँमै रोजगारीको वातावरण सिर्जना गर्ने लक्ष्य रहेको उनले बताए । कृषि प्राविधिकलाई गाउँस्तरमै खटाउने र कृषि क्षेत्रको समस्या समाधान गनुपर्ने उनले भनाइ राखे ।
किसानलाई सरकारी तथा सहकारीमार्फत खरिद ग्यारेन्टी गरि कोल्ड स्टोरेज र गोदाम निर्माण गरिने नीतिका लागि पनि आफू उम्मेदवार भएको उनले सुनाए । किसानलाई उचित मूल्य र बजारको सुरक्षाको ग्यारेन्टी अब आफूहरुले लिने उनको भनाइ छ । सहुलियत ब्याजदरमा कृषि ऋणका साथै बाली तथा पशु बीमा अनिवार्यका साथै साना किसानलाई प्रत्यक्ष नगद अनुदानको व्वस्था गरिने उनले प्रतिबद्धता दिलाए ।
युवालाई कृषि स्टार्टअप अनुदान, कृषि तालिम र व्यवसायिक सीप विकास, डिजिटल प्लेटफर्ममार्फत बजार पहुँच गरिने नीति लिएको उनको भनाइ छ । कृषिमा युवा आकर्षण र रोजगारी सिर्जना गरिने मुख्य उद्धेश्यले यस्तो नति ल्याइएको हो ।