कांग्रेसको पालिका अधिवेशनका मतदाता वडा सभापति र क्षेत्रीय प्रतिनिधि मात्रै

19

काठमाडौं – नेपाली कांग्रेसले पालिका अधिवेशनमा वडा सभापति र क्षेत्रीय प्रतिनिधि मात्रै मतदाता हुन पाउने गरी विधानमा संशोधन गरेको छ । यसअघि कांग्रेसको विधानमा पालिकाभित्र रहेका सबै क्रियाशील सदस्य अधिवेशनका सदस्य हुने प्रावधान थियो ।

कांग्रेसले अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्वका सन्दर्भमा विधान र नियमावलीमा गरिएको पालिकाका क्रियाशील सदस्यहरुले निर्वाचित गर्ने भन्ने उल्लेख गरिएका पदहरुको निर्वाचन वडा सभापति र क्षेत्रीय प्रतिनिधिले गर्ने जनाएको कांग्रेस नेता एवं क्रियाशिल छानबिन समितिका सदस्य प्रदिप पौडेलले जानकारी दिए।

‘विधानको धारा ८ (१) (क) र धारा ९ (१) (ख) मा उल्लेख गरिएको क्रमशः ‘गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण नेपाली कांग्रेसका क्रियाशील सदस्य गाउँपालिका अधिवेशनका र नगर/उपमहानगर/महानगरपालिका क्षेत्र भित्रका नेपाली कांग्रेसका क्रियाशील सदस्य नगरपालिका अधिवेशनका सदस्य’ भनिएकोमा ‘गाउँपालिका क्षेत्रभित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि तथा नगरपालिका क्षेत्र भित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि भनी संशोधन गर्ने,’ भनिएको नेता पौडेलले बताए ।

कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने गरी शनिबार कार्यतालिका सार्वजनिक गरेको छ । छैटौं पटक सार्वजनिक कार्यतालिकाका अनुसार वडा अधिवेशन भदौ १८ गते हुनेछ भने पालिका अधिवेशन भदौ २७ र प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज १ गते हुने छ ।

प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ र एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गर्ने कार्यतालिकामा उल्लेख छ । त्यस्तै प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म हुने कांग्रेसले जनाएको छ ।

समाचार वर्गहरू