कांग्रेसमा संस्थापनइतर पक्षद्वारा समानान्तर गतिविधि सञ्चालन : गगन थापा समुहको बैठकमा महाधिवेशनको बारे छलफल

10

काठमाडौँ । नेपाली कांग्रेसमा संस्थापनइतर पक्षले संगठित भएर समानान्तर गतिविधि सञ्चालन गरेसँगै संस्थापन पक्षले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । गत शुक्रबार सुरु भएको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार मात्रै सकिएको थियो । सोही दिनदेखि पूर्वसभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षले पनि आफ्नो गतिविधि अघि बढाएको छ ।

१४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसम्पादन समितिका नेताहरूको बैठक गरेर साविकको केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो । देउवा पक्षको सो भेलामा कोइराला पक्षधर नेताहरूको समेत सहभागिता थियो । यसरी इतर पक्षको भेलाले सशंकित बनेको कांग्रेस संस्थापनले बैठक समापन भएको १ दिन नबित्दै अर्को बैठक बोलाएको हो ।

मंगलबार दिउँसो १ बजे सानेपामा बस्ने बैठकमा केन्द्रीय पदाधिकारी र सदस्यबाहेक प्रदेश सभापतिहरूलाई समेत बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

सभापति थापाको कमब्याक

आजको केन्द्रीय समिति बैठक सभापति गगन थापाको अध्यक्षतामै बस्नेछ । प्रतिनिधिसभा चुनावमा पार्टीले भोगेको हारको नैतिक जिम्मेवारी लिँदै थापाले ३ चैतमा राजीनामा दिएका थिए । तर, आइतबारको बैठकले उनको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेर पार्टी जिम्मेवारीमा फर्काइसकेको छ ।

१५औँ महाधिवेशनको मिति तय गर्ने एजेन्डा

आजको केन्द्रीय समिति बैठकमा १५ औँ महाधिवेशनको मिति तय गर्ने विषयमा छलफल हुने बताइएको छ । २०७८ सालमा सम्पन्न १४औँ महाधिवेशनबाट निर्वाचित समितिको गत मंसिर मसान्तमै पदावधि सकिएको थियो । तर, तत्कालीन केन्द्रीय समितिले विधानबमोजिम समितिको म्याद थप्दै २६–२८ पुसमा १५ औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

तर, समयमै महाधिवेशन हुन नसकेपछि तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको सक्रियतामा २७–२८ पुसमा दोस्रो विशेष महाधिवेशन बोलाइयो । म्याद थप गर्दै सम्पन्न भएको विशेष महाधिवेशनले १ माघमा थापाको सभापतित्वमा नयाँ केन्द्रीय समिति चयन गरेको थियो ।

यता, १८ पुसमा बसेको तत्कालीन केन्द्रीय समिति बैठकले सो कार्यतालिका परिमार्जन गर्दै आगामी २८–३१ वैशाखमा १५औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो । विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापाले निर्धारित समयमा १५औँ महाधिवेशन गर्ने प्रतिबद्धतासमेत गरेका थिए ।

कांग्रेस आधिकारिकताको मुद्दा सर्वोच्चमा चलिरहेको सन्दर्भमा त्यही मुद्दालाई देखाउँदै इतर पक्षले समानान्तर गतिविधि थालेसँगै समयमै महाधिवेशन गर्न संस्थापनलाई दबाब परेको छ । अघिल्लो कार्यसमितिले तोकेकै समयमा महाधिवेशन गर्न क्रियाशील सदस्यता वितरण/नवीकरणलगायत कुनै पनि प्रक्रिया सुरु भइनसकेकाले सभापति थापाले नयाँ मिति प्रस्ताव ल्याउने बताइएको छ ।

आज सुरु हुने बैठकमा मुख्य गरी महाधिवेशनकै विषयमा छलफल हुने केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए । ‘यस बैठकले १५ औँ महाधिवेशनको सम्बन्धमा छलफल गरेर मिति तय गर्छ,’ उनले भने । त्यसैगरी यस बैठकले गत चुनावमा भोग्नुपरेको पराजयको सम्बन्धमा पनि छलफल गरेर धारणा तय गर्ने उनले जानकारी दिए ।

संसदीय दलमा देउवा–कोइराला पक्ष बलियो

प्रतिनिधिसभा सदस्यहरूले १२ चैतमा शपथ लिँदै छन् । १३ चैतमा नयाँ सरकारसमेत गठन हुने भएको छ । यससँगै अब संसदीय गतिविधि सुचारु हुनेछ । प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी ३८ सिट जितेको कांग्रेसभित्र संसदीय दलको नेता छनोटमा पेचिलो संघर्ष सुरु भएको छ ।

संस्थापन पक्ष र देउवा–कोइराला पक्षबीच गुटको लडाइँ दलको नेता छनोटमा पनि देखिने भएको हो । ३८ सदस्यीय दलमा देउवा–कोइराला पक्षको बहुमत पुग्ने भएपछि आफूअनुकूल नेता छान्न संस्थापनलाई सकस परेको हो । हालसम्मको अंकगणित हेर्दा संस्थापन पक्षका १६ सांसद छन् । देउवा पक्षका १५ र कोइराला पक्षका ७ जना छन् ।

यसरी देउवा–कोइराला मिल्दा २२ जना अर्थात् आरामदायी बहुमत पुग्नेछ । गत २०७९ को संसदीय दलको नेताको चुनावमा तत्कालीन सभापति देउवालाई महामन्त्री थापाले चुनौती दिएका थिए । यस पटक पनि संसदीय दलमा चुनाव हुने निश्चित देखिएको छ ।

बहुमत सदस्य आफूपक्षीय रहेको इतर पक्षले दलको नेता आफूहरूको उम्मेदवार हुने स्पष्ट पारिसकेको छ । संस्थापन पक्ष भने आफ्नो पक्षमा बहुमत पु¥याउन कसरतरत छ । संस्थापन पक्षका सांसदहरूमा अर्जुननरसिंह केसी, मोहन आचार्य, बासना थापा, निश्कल राई, जनकराज गिरी, खड्ग शाही, रेनुका काउचा, कालीबहादुर सहकारी र मनमाया विक छन् ।

त्यस्तै, प्रकाशसिंह कार्की, सन्तोष सुब्बा, भरतकुमार स्वार, नरेन्द्रकुमार केरुङ, फिरदोस आलम, अभिषेकप्रताप शाह र खडकबहादुर बुढा पनि संस्थापन पक्षकै हुन् । यता, देउवा पक्षमा भीष्मराज आङदेम्बे, टेकबहादुर गुरुङ, सन्दीप राना, विष्णुबहादुर खड्का, जयपति रोकाया र मदनकृष्ण श्रेष्ठ छन् ।

गंगालक्ष्मी अवाल, गीता गुरुङ, सुशीला ढकाल आचार्य, सीता थपलिया, हरिनादेवी कामी, पवित्रा विक, निनुकुमारी कर्ण, रेखाकुमारी यादव, र शाहजान खातुन पनि देउवा पक्षकै हुन् । कोइराला पक्षका निर्वाचित सांसदहरू भने योगेश गौचन थकाली, डा. चन्द्रमोहन यादव, भरतबहादुर खड्का, गीताकुमारी सेन्दाङ, रुक्मिणीदेवी कोइराला, रीना उप्रेती र प्रमिलाकुमारी गच्छदार हुन् ।

संस्थापन पक्षका अर्जुननरसिंह केसीले दलको नेतामा दाबी गरेका छन् । देउवा–कोइराला पक्षबाट भीष्मराज आङदेम्बेले दाबी गर्ने देखिएको छ । राजनीतिमा पुस्तान्तरण देखाउन ३५ वर्षीय निश्कल राईलाई दलको नेता बनाउनेतर्फ पनि सभापति थापालगायत नेताहरूले परामर्श गरिरहेका छन् ।

समाचार वर्गहरू