कांग्रेसले टुंग्यायो समानुपातिक सूची, २० मध्ये १५ जना महिला चयन

24

काठमाडौं । संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेसले २० जना समानुपातिक सांसदहरूको टुंगो लगाएको छ । आज बसेको बैठकले १५ महिला र ५ पुरुष सांसदहरूको नाम फाइनल गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । कांग्रेसले समानुपातिकमा २० सीट जितेको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभा गरी कांग्रेसका ६२ सांसद हुनेछन् ।

उनीहरूमध्ये ३३ प्रतिशत ९२१ जना० महिला प्रतिधित्व सुनिश्चित गर्नुपर्ने हुन्छ । त्यसका लागि कांग्रेसले समानुपातिकमा १५ जना महिला उम्मेदवार छान्नुपर्ने र त्यसै बमोजिम गरिएको चालिसेले बताए । चालिसेका अनुसार आदिवासी जनजातिबाट ६ जना, खस आर्यबाट ६ जना तथा थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको गरेर कुल ५ जना सांसदको चयन गरिएको छ ।

यसैगरी, कांग्रेसले यही हप्ताभित्र फेरि अर्को बैठक बसेर गत २१ फागुनमा सम्पन्न निर्वाचनको समीक्षा गर्ने बताएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो । उक्त बैठकले समानुपातिकतर्फ निर्वाचित हुने २० जना सांसदहरूको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ ।

तर, निर्वाचनको समीक्षा भने अर्को बैठकमा मात्रै गरिने प्रवक्ता देवराज चालिसेले जानकारी गराए । ‘समानुपातिक सिफारिस गर्ने आज अन्तिम दिन हो । आज यसलाई सक्छौं । यहि हप्तामा हामी निर्वाचनको समीक्षा पनि गर्छौं,’ उनले भने, ‘एक दुई दिनभित्रमा फेरि बैठक बस्छौं ।

सबै विषयहरू त्यहीँ छलफल हुन्छ ।’ पार्टीले निर्वाचनको बारेमा वृहत छलफल गर्ने र त्यसपछि मात्रै धारणा बनाउने प्रवक्ता चालिसेको भनाइ छ । ‘पार्टीले वृहत छलफल गर्छ । त्यसपछि मात्रै धारणा आउँछ,’ उनले बैठकपछि भने ।

समाचार वर्गहरू