काठमाडौं – काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ कुँडुवाल खोलामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
दुर्घटनामा बसका गाडी साहु तेमाल–१ भैंसेपानीका ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको छ। बस चालक मकवानपुर बागमती गाउँपालिका निवासी ५० वर्षीय कृष्ण ब्लोन गम्भीर घाइते भएका छन्। घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।
बस बिहेको लागि जन्ती पुर्याएर रिजर्भ सकेपछि बिहीबार बिहान नियमित क्यूमा लाग्न हिँडेको अवस्थामा दुर्घटनामा परेको तेमाल–१ का वडा अध्यक्ष इन्द्र अधिकारीले जानकारी दिए।
प्रहरीका अनुसार दुर्घटनास्थल पाँचखाल प्रहरी चौकीबाट करिब १० किलोमिटर पश्चिममा पर्छ। प्रारम्भिक अनुसन्धान अनुसार बस मोडमा ब्याक गर्ने क्रममा अनियन्त्रित भइ दुर्घटनामा परेको अनुमान गरिएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ।