काठमाडौं – सेयर कारोबार हुने साताको अन्तिम दिन पनि धितोपत्र बजार ओरालो लागेको छ । बजार परिसूचक नेप्से बिहीबार ४ दशमलव ४७ अंकले ओरालो लागेर एक हजार ६ सय ३६ दशमलव १७ बिन्दुमा पुगेको छ ।
नेप्से ओरालो लागेपनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा एक अर्ब ९ करोड रुपैयाँले वृद्धि भएको छ । नेप्सेमा आज दुई अर्ब ८४ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबार २ दशमलव ३९ अंकले ओरालो लागेको नेप्सेमा एक अर्ब ७५ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । यस दिन सानिमा जनरल इन्स्योरेन्स, रैराङ हाइड्रोपावर र गोर्खाज फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सानिमा जनरल इन्स्योरेन्सको शेयरमूल्य यस दिन ३४ रुपैयाँ बढेर ३७६ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
त्यसैगरी, रैराङ हाइड्रोपावरको शेयर २२ रुपैयाँ बढेर २४४ रुपैयाँ र गोर्खाजको १५ रुपैयाा बढेर १७० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस दिन सिन्धु विकास बैंकको शेयरमूल्य ९.३८ प्रतिशत बढेको छ । बिहीबार नेप्सेमा कारोबार भएका होटल, विकास बैंक, जलविद्युत र जीवन बीमा बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचक ओरालो लाग्दा समग्र बजार नै प्रभावित बन्यो ।
सबैभन्दा बढी व्यापार कम्पनी समूहको उपसूचक १९ दशमलव ३ अंकले घटेको छ । हाइड्रोपावर उपसमूहको परिसूचक ०.९८ प्रतिशत, होटल, ०.२८, विकास बैंक ०.२४ र जीवन बीमाको ०.०१ प्रतिशत बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक भने यस दिन सर्वाधिक १.५३ प्रतिशत घटेको छ ।
नेप्सेमा आज कुल २ सय कम्पनीका ३५ हजार ३ सय ३५ कारोबारबाट ९१ लाख २३ हजार ८ सय ९६ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेप्सेमा आज कारोबार रकमका आधारमा प्राइम कमर्शियल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको २० करोड ८४ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।