(काठमाडौं) — आफ्ना मागहरु पूरा नभए कार्तिक १८ गतेबाट सत्याग्रह सहितको आन्दोलन सुरु गर्ने प्रा.डा. गोविन्द केसीले चेतावनी दिएका छन् । आफ्ना मागहरु पूरा गर्न सरकारलाई यसअघि कात्तिक ८ गतेसम्मको अल्टिमेटम दिएपनि बीचमा तिहार र छठ पर्व परेकाले त्यो लगत्तै आन्दोलन सुरु गर्ने उनले बताएका हुन् । शुक्रबार विज्ञप्ति जारी गर्दै डा. केसीले यस्तो बताएका हुन् ।
बिहीबार वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा अवैध रुपमा असूलिएको शुल्क फिर्ता गर्नुपर्ने माग राख्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रेका विद्यार्थीलाई कलेज प्रशासनले आक्रमण गरेको घटनाको उनले विरोध गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘जायज माग पूरा गराउनका लागि आन्दोलनरत मेडिकल विद्यार्थीहरुमाथि मेडिकल माफियाले गराएको यस्तो सांघातिक हमलाको हामी घोर भत्र्सना गर्दर्छौं ।’
साथै सरकारले दिएको अल्टिमेटममा विद्यार्थीलाई अवैध रुपमा असुलिएको शुल्क फिर्ता नगर्ने सबै मेडिकल कलेजका सञ्चालकहरुलाई तत्काल फौजदारी कसुर अन्तर्गत पक्राउ र कारवाही गर्न जोडदार माग गरेका छन् ।
केही साताअघि मात्रै त्रिवि शिक्षण अस्पतालबाट अवकाश प्राप्त गरेपछि उनी देश भ्रमणमा निस्किएका छन् ।