काठमाडौँ — भारतीय राज्य दिल्लीमा बुधबार भएको चुनावमा पूर्वमुख्यमन्त्री तथा आम आदमी पार्टी (आप) का संस्थापक अरविन्द केजरीवाल पराजित भएका छन् । तीनपटक दिल्लीको मुख्यमन्त्री बनेका केजरीवाललाई भारतीय जनता पार्टीका प्रवेश बर्माले पराजित गरेका हुन् । केजरीवाल ४ हजार ८९ मतले पराजित भएका हुन् ।
सन् २०१३ मा केजरीवाल पूर्वमुख्यमन्त्री शिला दीक्षितलाई हराएर चर्चामा आएका थिए । त्यही क्षेत्रमा उनी बर्मासँग पराजित भएका हुन् । त्यससँगै दीक्षितको १५ वर्ष लामो शासन अन्त्य भएको थियो । यसपटकको चुनावमा पूर्वमुख्यमन्त्री दीक्षितका छोरा सन्दीप भने तेस्रो स्थानमा रहे ।
आप प्रमुखलाई पराजित गरेसँगै बर्माको नाम भावी मुख्यमन्त्रीका रूपमा चर्चामा आएको छ । ‘यसबारे पार्टीले फेब्रुअरी ८ पछि निर्णय गर्छ । मलाई मुख्यमन्त्री बनाउने हो भने म उनीहरूको माग पूरा गर्छु,’ गत जनवरीमा चुनावी अभियानका क्रममा ‘द इन्डियन एक्सप्रेस’ सँग कुरा गर्दै परवेश बर्माले आफ्नो सम्भावनाबारे भनेका थिए ।
सन् २०१५ मा केजरीवालले ६४.१४ प्रतिशत मतसहित विजयी भएका थिए । सन् २०२० मा भने उनले ६१.१ प्रतिशत मत पाएका थिए । तर पछिल्लो समय दिल्लीको चुनावी प्रतिस्पर्धा तीव्र बनेको थियो ।
४७ वर्षीय बर्मा पूर्वमुख्यमन्त्री तथा भाजपाका पूर्वउपाध्यक्ष साहिब सिंह बर्माका छोरा हुन् । चुनावी अभियानका क्रममा उनले साबरमतीको जस्तै यमुना नदीमा रिभरफ्रन्ट बनाउने, झुपडीमा बस्नेलाई घर दिने, पूर्वाधार निर्माण गर्ने, ५० हजारलाई सरकारी जागिर, फ्लाईओभर र प्रदूषणमुक्त राष्ट्रिय राजधानी बनाउने लगायतका थुप्रै वाचा गरेका थिए ।
महरौलीबाट सन् २०१३ मा दिल्ली विधानसभामा निर्वाचित बर्मा सन् २०१४ देखि दुई कार्यकाल लोक सभाका सदस्य थिए । तीन दशकदेखि भाजपामा सक्रिय बर्माले गत जनवरी मध्यमा आफ्नो चुनावी अभियान सुरू गरेका थिए । त्यसको केही साताअघि उनले नयाँदिल्लीका झुपडी (झुग्गी झुपडी) मा बस्ने स्थानीयका आवश्यकताहरू पत्ता लगाउन विभिन्न स्थानमा पुगेका थिए ।
‘झुग्गी झुपडी (जेजे) का धेरै मानिसहरूले नि:शुल्क पानी र बिजुली पाएका छैनन् । म यो खुलेर भन्न चाहन्छु । सफा पानी र नि:शूल्क बिजुली पाइरहेको हुनुहुन्छ, उहाँहरूले कृपया केजरीवाललाई भोट दिनुहोस् । नपाउनेहरूले भाजपालाई भोट गर्नुहोस्,’ चुनावी सभाहरूमा उनले बारम्बार दोहोर्याउने गरेका थिए । (एजेन्सीहरूको सहयोगमा)