वीरगञ्ज – कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट पर्सामा थप तीन जनाको मृत्यु भएको छ ।
नारायणी अस्थायी वीरगञ्ज हेल्थ केयर कोरोना अस्पतालमामा उपचारको क्रममा पर्साको धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया महिलाको मृत्यु भएको हो ।
७२ वर्षीय पुरुषको बुधबार साँझ साढे ६ बजे नारायणी अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो । भदौ ८ गते नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका ७२ वर्षीय पुरुषमा निमोनियासमेत थियो ।
बाराको सुवर्ण गाउँपालिका हर्दियाकी २३ वर्षीया कोरोना संक्रमित गर्भवतीको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । भदौ ८ गते नारायणी अस्पतालमा भर्ना भएकी उनलाई सास फेर्न गाह्रो भएपछि भेन्टिलेटरमा राखिएको थियो । उपचारकै क्रममा बिहीबार बिहान ६ बजे उनको मृत्यु भएको अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।
वीरगञ्ज महानगरपालिका–१४ बहुअरीका ६२ वर्षीय पुरुषको बिहीबार बिहान ८ बजेर १० मिनेटमा नारायणी अस्थायी हेल्थ केयर कोरोना अस्पतालमा मृत्यु भएको हो । मिर्गौलाका बिरामी रहेका उनको अस्पतालमै नियमित डायलसिस समेत भइरहेको थियो । गत साउन ३० गते उनी कोरोना अस्पतालमा भर्ना भएका थिए ।