एजेन्सी – क्रोएसियाको राष्ट्रपतिमा पूर्व प्रधानमन्त्री जोरन मिलानोभिक निर्वाचित भएका छन् । राष्ट्रपति चयनका लागि भएको निर्वाचनको दोस्रो चरणबाट उनी निर्वाचित भएका त्यहाँको निर्वाचन आयोगले जनाएको छ । ९९ प्रतिशत मत गणना भइसक्दासम्म मिलानोभिकले ५२.७ प्रतिशत मत ल्याएको आयोगका अधिकारीहरुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
स्थानीय समयअनुसार आइतबार सार्वजनिक निर्वाचनको मत परिणामअनुसार मिलानोभिकका प्रतिद्धन्द्धी तथा निवर्तमान राष्ट्रपति कोलिन्दा ग्राबर कितारोभिकले ४७.३ प्रतिशत मत पाएका छन् ।
पहिलो चरणको निर्वाचनमा कुल ११ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । उनीहरु मध्ये धेरै ल्याउने दुई जनाका बीचमा दोस्रो चरणमा प्रतिस्पर्धा गराइएको हो । क्रोएसियामा हरेक पाँच पाँच वर्षमा राष्ट्रपति चयनका लागि निर्वाचन हुने संवैधानिक व्यवस्था रहेको छ ।
रासस