काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशन समयमै सम्पन्न गर्न निर्देश गरेका छन् । सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।
पार्टी सभापति लामिछाने साढे ५ महिनापछि सोमबार केन्द्रीय बैठकमा सहभागी भएका हुन् । पार्टीको औपचारिक जिम्मेवारीमा फर्किएका उनले भने,‘गणतन्त्र भनेको ओली तन्त्र र देउवा तन्त्र हैन । गणतन्त्र भनेको जनताको तन्त्र हो र त्यो झन्डा हामीले बोक्छौ। गणतन्त्रमा पनि सुधार आवश्यक छ, यहाँ सबै व्यवस्थाको उत्कृष्टताको परीक्षा दिनुपर्छ, दिएको छ। केही पास भएको छ, केही फेल भएको छ। हालको संविधान र व्यवस्था अन्तर्गत सुधारिएको अभ्यास र आवश्यक परिणामको लागि र यसलाई पास गराउन अब हामी नेतृत्व लिनेछौं ।’
अरू दलमा अवसर नपाएर मात्रै आउने ठाउँ हैन राष्ट्रिय स्वतन्त्र पार्टी, यो देश बनाउनको लागि एक ठाउँमा आएर अभियानमा लाग्ने पार्टी भएको उनले बताए “मैले के गर्नुपर्छ भन्नुस् । १५ दिनभित्र के भएन र के गर्नुपर्छ भनेर लिखित रूपमा लेखेर ल्याउनुस्, म पार्टीको लागि २४ घण्टा खट्न, सयौँ किलोमिटर हिँड्न तयार छु।“ बैठकमा सभापति लामिछानेले भने।
बैठकले महाधिवेशन आयोजना गर्ने सन्दर्भमा केन्द्रीय समितिका सदस्यहरू र प्रदेश समितिबाट आगामी तीन दिनभित्र लिखित राय र कार्य विवरण पार्टीमा पेश गर्न निर्देशन दिने निर्णय भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकले राष्ट्रिय भेलामा घोषणा गरेको “जनताको कुरा सुन्ने यात्रा, जनयात्रा“को शुभारम्भ यही २०८१ चैत्र २३ गते चितवनबाट गर्ने तय समेत गरिएको उनले बताए ।