काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि संसद बैठक आइतबारसम्मका लागि स्थगित भएको छ।
यसअघ आजै बसेको बैठक कांग्रेसको अवरोधकै कारण १५ मिनेट स्थगित गरिएको थियो। झन्डै दुई घन्टापछि पुनः सुरू भएको बैठक कांग्रेसको नाराबाजीपछि स्थगित भएको हो।
सभामुख घिमिरेले गृहमन्त्रीलाई लामिछानेलाई राजनीतिक दलसम्बन्धी २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने समय दिएपछि कांग्रेसले संसद अवरोध गर्दै नाराबाजी गरेका थिए।
बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेलाई राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएपछि कांग्रेस सांसदहरू सिटबाट उठेर बेल घेर्न पुगेका थिए।
उनीहरूले गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्ने भन्दै नाराबाजी गरेका थिए। सहकारीमा ठगीमा संलग्न भएका लामिछानेले राजीनामा दिनुपर्ने र पीडितले न्याय पाउनुपर्ने माग कांग्रेस सांसदहरूको थियो।
कांग्रेस सांसदहरूले विरोध जनाइरहँदा लामिछाने पनि आफ्नो सिटबाट उठेर रमिता हेरिरहेका थिए। सांसदहरू हँसिलो मुद्रामा लामिछानेसँग हात मिलाउँदै बाहिरिएका थिए।
नाराबाजी जारी रहेकै बेला सभामुख घिमिरेले बैठकको कार्यसूचीका सबै हटाइएको र अर्को बैठक आइतबार ११ बजे बस्ने जानकारी गराए।
शुक्रबार ११ बजे बसेको बैठकमा पनि लामिछानेले उक्त प्रस्ताव पेस गर्न लाग्दा विरोध जनाएका थिए। कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नियुक्तिका विषयमा प्रधानमन्त्रीको जबाफ नआउँदासम्म लामिछानेलाई अवरोध गरिरहने बताएका थिए।
उनले विनियोजन विधेयकको सिद्धान्तबारे हुने छलफलमा भने अवरोध नगर्ने स्पष्ट पारेका थिए। उनले भनेका थिए, ‘प्रधानमन्त्रीको जबाफ नआउँदासम्म गृहमन्त्रीको कार्यसूचीमा प्रवेश गर्न सक्दैनौँ।’