काठमाडौं – चिनियाँ विदेशमन्त्री वाङ यीले आज (आइतबार) नेपाल आउंदै छन् । मन्त्री वाङ यीको तीन दिने नेपाल भ्रमणबारे दुवै देशले शुक्रबार औपचारिक जानकारी गराएका छन् । आइतबार पाकिस्तानको इस्लामावादमा सुरु हुने चीन–अफ्गानिस्तान–पाकिस्तान विदेशीमन्त्रीस्तरीय बैठकमा सहभागी भएर उनी काठमाडौं ओर्लने चिनियाँ परराष्ट्र प्रवक्ता कङ श्वाङले जनाएका छन् ।
चिनियाँ विदेश मन्त्रालयले वाङको काठमाडौं भ्रमणको कार्यक्रम सार्वजनिक गरे लगत्तै काठमाडौंमा परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत तीन दिने भ्रमणको औपचारिक जानकारी दिएको हो । वाङ ८ सेप्टेम्बर आज नेपाल आएर पर्सि फर्किनेछन् ।
परराष्ट्र मन्त्रालयले पनि गत शुक्रबार नै विज्ञप्ति जारी गरी उनको नेपाल भ्रमणबारे पुष्टि गरेको हो । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको निम्तोमा नेपाल भ्रमणमा आउन लागेका विदेशमन्त्री वाङले राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
ती भेटहरुमा चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई), चिनियाँ सहयोगमा नेपालमा निर्माणाधीन परियोजनाबारे छलफल हुने परराष्ट्रमन्त्रालयले जनाएको छ ।