जनमतले संघीय र लुम्बिनी सरकारमा समावेश गराए उपसभामुख हटाउन साथ दिने

135

काठमाडौं – जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले आफूहरुलाई संघीय र लुम्बिनी सरकारमा समावेश गराए उपसभामुख हटाउन साथ दिन सकिने बताएका छन् ।

सत्ता गठबन्धनका प्रमुख दुई दल कांग्रेस र एमाले उपसभामुख रानामगरलाई पदमुक्त गर्ने तयारी स्वरुप सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकमा उपसभामुखबारे छलफल भएको थियो । त्यस क्रममा आफूले पार्टीको धारणा राखेको उपाध्यक्ष खानले बताए ।

‘सबैभन्दा पहिले जनमत पार्टी सत्ता गठबन्धनमा भए/नभएको दुई ठूला दलले स्पष्ट पार्नुपर्दछ । कुनै ठाउँमा हामीलाई स्थान नदिएपछि गठबन्धनको कुरा मानिराख्ने भन्ने हुँदैन’, खानले बालुवाटार बैठकमा आफूले राखेको धारणाबारे भने,‘पहिले यो दुई शर्त उहाँहरुले मान्नु पर्‍यो । त्यसपछि अरु कुरामा हामी समर्थन गर्छौं ।’

उपसभामुख रानामगरलाई पद अनुकुलको आचरण नगरेको भनेर हटाउन प्रतिनिधिसभाका २७५ सांसदको दुइ तिहाई अर्थात १८३ सांसदको आवश्यक पर्दछ । सत्तारुढ दलमा कांग्रेस (८८), एमाले (७७), जसपा (७ अशोक राई पक्ष), लोसपा (४) र नागरिक उन्मुक्ति(४)का सांसद संख्या १८० छ । ६ सांसद रहेको जनमतले उपसभामुख हटाउन मत दिँदा दुई तिहाइ सहजै पुग्छ ।

समाचार वर्गहरू