जापानले नेपालको सिंचाई क्षेत्रमा सहयोग गर्ने

15

(काठमाडौं) – जापानले नेपालको सिंचाई क्षेत्रमा सहयोग गर्ने भएको छ । जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयको प्रतिनिधिमण्डलले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनसँग भेटवार्ता गर्दै सिंचाई क्षेत्रमा सहयोग गर्ने प्रस्ताव गरेको हो । भेटमा तराई मधेषमा सञ्चालन भएका सिंचाई आयोजनामा सहयोग गर्ने विषयमा छलफल भएको थियो ।

जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयको विदेश मामिला हेर्ने विभागका उपमहानिर्देशक नाकाडा टाहामीको नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार मन्त्री पुनसँग सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भेटवार्ता गर्दै ऊर्जा र सिंचाईको क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव गरेका हुन् ।

जापानी राजदूत मसामिची साईगो समेत सहभागी बैठकमा सिंचाई र जलविद्युत क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो । उपमहानिर्देशक नाकाडाले भेटमा कृषि,जलस्रोत र सिंचाईको क्षेत्रमा जापानले गर्दै आएको सहयोगको निरन्तरता हुने भन्दै थप सहयोग गर्न जापान तयार रहेको बताए ।

भेटमा ऊर्जा मन्त्री पुनले जापान नेपालको पुरानो विकास साझेदार मुलुक भएको भन्दै आगामी दिनमा पनि दुई देशको सम्बन्ध अझै प्रगाढ हुने बताए । मन्त्री पुनले सरकारले सिंचाईतर्फ ठूला आयोजना अघि बढाइरहेको, तराई मधेषमा बाह्रै महिना सिंचाई उपलब्ध गराउने गरी तयारी गरेको र पहाडमा लिफ्ट सिंचाईको लागि काम भइरहेको जानकारी दिए ।

जापानले कन्काई सिंचाई आयोजनामा पुर्याएको सहयोगप्रति पनि धन्यवाद दिंदै उनले सिंचाईको क्षेत्रमा थप सहयोगको अपेक्षा गरेको बताए । उनले जापान सरकारको सहयोगमा ऊर्जा मन्त्रालय मातहत अनुसन्धान केन्द्र रहेको र सरकारले त्यसमा पहिलो पटक अनुसन्धानको लागि २० करोड रुपैयाँ बजेट समेत विनियोजन गरेको जानकारी दिंदै सो संस्थासँग सहकार्य गर्न पनि आग्रह उपनिर्देशक टाहामीसँग आग्रह गरेका छन् ।

त्यसैगरी सिंचाई क्षेत्रमा जल उपभोक्ता समितिहरु सक्रिय रहेको र काम पनि प्रभावकारी रहेको भन्दै त्यसमा सहकार्य गर्न सकिने विषयमा छलफल भएको थियो । भेटमा सिक्टा सिंचाई परियोजनामा देखिएको घुलनशिल माटोको समस्या देखिएको भन्दै समाधानका लागि समेत छलफल भएको थियो ।

मन्त्री पुनले जापानसँग समाधानको लागि कुनै उपाय भए सहयोग गर्न भेटमा आग्रह गरेका थिए । भेटमा नलसिंङगाड जलविद्युत परियोजनाको बारेमा समेत छलफल भएको थियो । मन्त्री पुनले नलसिंङगाड जलविद्युत परियोजनामा जापानको लगानी र सहयोग हुने कुरामा नेपाल सरकार ढुक्क रहेको बताएका थिए ।

समाचार वर्गहरू