जुम्लाबाट यस वर्ष ३४ करोड रुपैयाँ बराबरको स्याउ निर्यात

13

(जुम्ला) विजय रावत/रासस – जुम्लाबाट ६ हजार ५ सय मेट्रिक टन स्याउ निर्यात गरिएको छ । विगत दुई वर्षयताकै स्याउबाट भित्रिने आर्थिक आम्दानीको रेकर्ड तोड्दै यस वर्ष ३४ करोड १८ लाख ८० हजार रुपैयाँ बराबरको स्याउ निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए ।

आर्थिक वर्ष २०७४र७५ मा रु १६ करोड र आर्थिक वर्ष २०७५र७६ मा रु १७ करोड बराबरको स्याउ जिल्ला बाहिर गएको उनले जानकारी दिए । उनले भने, ‘दुई आर्थिक वर्षको तुलनामा यस वर्ष स्याउबाट करीब १७ करोड रुपैयाँ बढी आम्दानी भएको छ ।’

पछिल्लो समय जुम्ली किसानको स्याउखेती प्रति बढ्दै गएको आकर्षणका कारण पनि उत्पादन वृद्धि भइरहेको छ । जुम्लाका साढे १६ हजार घरधुरी स्याउखेतीमा निर्भर छन् । स्याउको आम्दानी हेर्दा कम्तीमा एक किसानले चारदेखि ६ लाख रुपैयाँ बराबर कमाएका छन् । तिला गाउँपालिका–१ का नर रावत र महेन्द्र बुढाले स्याउ निर्यातबाट करीब दुईदेखि चार लाख रुपैयाँ कमाएको जानकारी दिए ।

१२ हजार मेट्रिक टन स्याउ उत्पादन :

जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार यस वर्ष जुम्लामा १२ हजार मेट्रिक टनभन्दा बढी स्याउ उत्पादन भएको छ । स्याउ उत्पादनको तथ्याङ्क पनि विगत दुई वर्षयताकै धेरै छ । जम्मा उत्पादित स्याउको ७० प्रतिशत अर्थात आठ हजार ५४७ मेट्रिक टन स्याउ बिक्रीयोग्य रहेको थियो । असोज अन्तिमसम्मको तथ्याङ्कअनुसार जुम्लाबाट ६ हजार ५ सय मेट्रिक टन स्याउ मात्रै निर्यात भएको छ ।

सोबाट ३४ करोड रुपैयाँ जुम्ला भित्रिएको छ । जुम्लाको कूल खेतीयोग्य जमीन ३९ हजार ४३५ हेक्टर छ । त्यसको तीन हजार ७ सय हेक्टर जमीनमा गरिएको स्याउ खेतीमध्ये एक हजार ४४७ हेक्टरमा मात्रै स्याउ फलेको थियो । सरदर रुपमा प्रति किसानले ८।२५ मेट्रिक टन स्याउ उत्पादन गरेका छन् । व्यापारीले बगैँँचामै पुगेर धमाधम स्याउ खरिद गरेका थिए ।

समाचार वर्गहरू