टोटनह्यामका प्रशिक्षक माउरिसियो पोचिटिनो बर्खास्त

16

(एजेन्सी) – टोटनह्यामले प्रशिक्षक माउरिसियो पोचिटिनोलाई टोलीबाट बर्खास्त गरेको छ । प्रिमियर लिगमा पछिल्लो समय टोटनह्यामले खराब प्रदर्शन गरेपछि क्लबले उनलाई बर्खास्त गरेको हो ।

क्लबले अघिल्लो सिजनको अन्त्य र नयाँ सिजनको सुरुवात अत्यन्तै निराशाजनक रहेको बताएको छ । क्लब अहिले तालिकाको १४ औ स्थानमा छ । ४७ वर्षीय प्रशिक्षकको विकल्पको रुपमा जोसे माउरिन्होलाई हेरिएको छ ।

क्लबका अध्यक्ष ड्यानियल लेवीले भने, ‘हामी यस प्रकारको परिवर्तका लागि निकै अनिच्छुक छौ । यो त्यस्तो फैसला हैन कि जसलाई बोर्डले हल्का रुपमा लिएको छ । वा कुनै हतारोमा ।’

प्रिमियर लिगको १२ औँ चरण सकिँदा टोटनह्याम १४ अंक सहित १४ औं स्थानमा छ । उसले गएको जनवरीदेखि अवे मैदानमा जित निकाल्न सकेको छैन । उसले तीन जित, पाँच बराबरी र चार हारको नतिजा निकालेको छ ।

बोर्डको छलफलपछि यो निर्णय लिएको क्बलका अध्यक्ष डेनियल लेभीले बताएका छन् । सन् २०१४ को मेमा क्लबमा आबद्ध भएपछि पोचेटिन्होले गएको सिजन टोटनह्यामलाई च्याम्पियन्स लिगको फाइनलसम्म पुर्याएका थिए ।

लिभरपुलसँग पराजित हुँदै टोटनह्याम उपविजेतामा सीमित बनेको थियो । मड्रिडमा भएको सो खेल टोटनहमले लिभरपुलसंग गुमाएको थियो । साउथह्याम्टनका पुर्व प्रशिक्षक पोचिटिनाले टोटेनहमलाई लिग कपको फाइनल खेलाउनुका साथै पहिलो सिजनमै तेस्रो बनाएका थिए । त्यस्तै सन् २०१७ को सिजनमा उपविजेता समेत बनाएका थिए ।

पोचेटिन्होलाई बर्खास्त गरेपछि सहायक प्रशिक्षक जेसस पेरेज, मिगेग डि अगस्टिनो र एन्टोनी जिमिनेजले पनि क्लब छोडेका छन् । यो सिजनको लिग कपमा टोटनह्याम तेस्रो डिभिजनको कोलकास्टरसँग पराजित भयो भने च्याम्पियन्स लिगको समूह चरणमा पनि बायर्न म्युनिखसँग आफ्नै मैदानमा ७–२ को पराजय भोग्न बाध्य भयो ।

समाचार वर्गहरू