तीन महिनामा २ खर्ब ५८ अर्ब विप्रेषण भित्रियो

35

काठमाडौं – विव्यव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण ठूलो असर पुग्ने अनुमान विपरीत रेमिट्यान्स बढेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा दुई खर्ब ५८ अर्ब ८६ करोड रुपैयाँ बराबरको विप्रेषण भित्रिएको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ दशमलव ६ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५ दशमलव १ प्रतिशतले घटेको थियो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७ दशमलव ६ प्रतिशतले वृद्धि भई दुई अर्ब १८ करोड रुपैयाँमा पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ४ दशमलव ७ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ९६ दशमलव ८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ३ दशमलव ७ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ७८.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या शून्य दशमलव ९ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सर्फर १० दशमलव २ प्रतिशतले वृद्धि भई २८६ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सर्फर ३ दशमलव ८ प्रतिशतले घटेको थियो ।

कोरोनाका कारण प्रमुख श्रम गन्तव्यमा समेत रोजगारीमा समस्या आए पनि चालू आर्थिक वर्षको गत असोज मसान्त सम्ममा विप्रेषण आप्रवाह सकारात्मक रहेको राष्ट्र बैंकले जनाएको छ ।

समाचार वर्गहरू