ललितपुर । ललितपुरको ऐतिहासिक बस्ती खोकना शुद्ध तोरीको तेलका लागि आज पनि उत्तिकै परिचित रहेको छ । खोकना सम्झनासाथ धेरैको मनमा शुद्ध तोरीको तेलको स्वाद र सुगन्ध झल्किन्छ । करिब तीन सय वर्ष लामो इतिहास बोकेको काठको तेल मिल (कोल) अहिले पनि यहाँ सञ्चालनमा रहेकाले खोकनाको पहिचान जोगिएको स्थानीय बताउँछन् ।
ललितपुर महानगरपालिका–२१ खोकनामा रहेको ऐतिहासिक ‘गाबु ज्याः सा’ तेल मिल अहिले पनि सञ्चालनमा छ । तीन सय वर्ष पुरानो काठको मिललाई स्थानीय कान्छा महर्जनले निरन्तरता दिँदै आएका छन् । उनले कोलबाट पेलिएको शुद्ध तोरीको तेल स्वदेशका साथै विदेशसम्म पठाउने गरिएको छ । मल्लकालमा खोकनामा चारवटा ऐतिहासिक काठका तेल मिल सञ्चालनमा थिए ।
समयसँगै तीमध्ये तीन बन्द भए पनि एउटा मिलले पुरानो परम्परालाई जीवित राखेको छ । बाँकी तीनवटै ऐतिहासिक मिल पुनः सञ्चालनमा ल्याउन ललितपुर महानगरपालिकाको पहलमा भवन निर्माण प्रक्रिया अघि बढेको छ । शुद्ध तोरीको तेल र ऐतिहासिक कोलका कारण खोकनामा विदेशी पर्यटकसमेत अवलोकनका लागि आउने गरेका महर्जनले बताएका छन् ।
खोकना प्रवेश गर्ने वित्तिकै आधुनिक प्रविधिबाट तेल उत्पादन गर्ने युवा व्यावसायिका तेल मिल र साइनबोर्डहरू देखिन्छन् । खानोमी तेल मिलका सञ्चालक पवित्रकुमार डङ्गोलका अनुसार खोकनामा हाल १० देखि १५ वटा तेल मिल सञ्चालनमा छन् ।
पहिले सामुदायिक रूपमा काठको कोलबाट तेल उत्पादन गरिए पनि लागत महँगो र जनशक्ति बढी आवश्यक पर्ने भएकाले अहिले अधिकांश व्यवसायीले आधुनिक मिलको प्रयोग गर्न थालेका उनले बताए । पहिले खोकनाका स्थानीयले आफैँं तोरी उत्पादन गर्ने गरेकामा अहिले तोरीखेती घटेको छ । डुङ्गोलका अनुसार पहिले खोकनावासी तेल र तोरी साट्न भक्तपुर, काठमाडौँ, मकवानपुर र नुवाकोटसम्म पुग्ने गर्दथे । अहिले भने नेपालमा उत्पादन हुने तोरीले बजार धान्न नसक्दा भारत, युक्रेनलगायत देशबाट आयात गरेर तेल उत्पादन गरिँदै आइएको उनले बताए।
ऐतिहासिक रूपमा तोरी उत्पादन र शुद्ध तोरीको तेलका लागि चिनिँदै आएको खोकना आज पनि यही पहिचानका कारण बजारमा लोकप्रिय छ । आधुनिक प्रविधि र पुरानो काठको कोल दुवैको सहअस्तित्वले खोकनाको तेल परम्परा जोगाइरहेको स्थानीयको विश्वास छ ।