दमक बिजनेस कम्प्लेक्सकै कारण सो क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने : प्रधानमन्त्री ओली

13

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दमक बिजनेस कम्प्लेक्सले सो क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ । आइतबार झापाको दमकमा निर्माण भएको १८ तले दमक बिजनेस कम्प्लेक्सको उद्घाटन गर्नेक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो । उहाँले दीर्घकालका लागि सो कम्प्लेक्सले दमक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउने कुरामा कुनै दुईमत नभएको समेत बताउनु भएको छ ।

उहाँले सो टावरकै कारण यस क्षेत्रमा व्यापार व्यवसायदेखि पर्यटन क्षेत्रको समेत विकास हुने दाबी गर्नुभएको छ । आइतबार उद्घाटन भएको सो कम्प्लेक्स पूर्वपश्चिम मुख्य सडकको ताराबारी खण्ड भन्दा केही माथि निर्माण गरिएको छ । २०७६ सालमा शिलान्यास गर्दै राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाइएको झापाको दमक ३ मा निर्माण भएको ‘दमक बिजनेस कम्प्लेक्स’ प्रधानमन्त्री ओलीकै निर्वाचन क्षेत्र झापा ५ मा पर्दछ । सो कम्प्लेक्स प्रधानमन्त्री ओलीकै पहलमा गौरवको आयोजनाका परेको थियो ।

१ अर्ब ३८ करोड १८ लाख ४ हजार ५ सय ६९ रुपैयाँ लागत सम्झौता भएको परियोजनाको लागत ५ दशमलव ४ प्रतिशत बृद्धि भएको थियो । सहरी विकास तथा भवन निर्माण आयोजना चन्द्रगढीका अनुसार सो कम्प्लेक्स १ अर्ब ४५ करोड रुपैयाँमा कम्प्लेक्स निर्माण सम्पन्न भएको जनाएको छ । सो कम्प्लेक्सको चिनियाँ कम्पनी जेडसीजीआईआईसी र आशिष् ओम साइराम निर्माण कम्पनी जेभीले निर्माण गर्न जिम्मा दिइएको थियो । यो टावर १ वर्ष अघि नै निर्माण सम्पन्न भए पनि त्यसको सञ्चालनका सम्बन्धमा संघीय सरकारले नीति बनाउन समय लागेपछि उद्घाटन हुन सकेको थिएन । उद्घाटन नहुँदा यसको बारेमा आलोचना हुदै आएको छ ।

कम्प्लेक्सको २०७६ असार २७ गते प्रधानमन्त्री ओलीले नै शिलान्यास गर्नुभएको थियो । यसैबीच, प्रधानमन्त्री ओली गृहजिल्ला झापा पुगेको समयमा कालो झन्डा देखाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्री ओलीलाई कालो झन्डा देखाउने पहिचान पक्षधर नेता कार्याकर्ताहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दमकमा कालो झन्डा देखाउन खोज्ने केदार धिमाल, मात्रिका धिमाल र याम लोरिङ्देन लिम्बूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रधानमन्त्री ओली आइतबार र सोमबार झापा जिल्लामै रहने कार्यक्रम तय भएको छ ।

समाचार वर्गहरू