काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मुलुकका दुई ठुला पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट नभएको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री पौडेलले यस्तो बताएका हुन्। उनले नेपाली कांग्रेस र नेकपा (एमाले) समीकरणमा संसदको झन्डै दुई तिहाई बहुमतको सरकार बनेको बताए।
उनले दुई ठुला पार्टी मिलेर बनेको सरकारले काम नगरेर अर्को विकल्पको सरकार बनेर काम गर्नसक्छ भन्ने आशा गर्नसक्ने स्थिति नभएको बताए। उनले दुई ठुला पार्टी मिलेर सरकार बन्नु आफैँमा राजनीतिक शक्तिको एकीकृत स्वरूप निर्माण भएको बताए। उनले एकीकृत स्वरूप निर्माण भएपछि जनताले अपेक्षा गरेका काम नगर्ने छुट वर्तमान सरकारलाई नभएको उल्लेख गरे।
उनले भने, ‘‘नेपाली कांग्रेस र नेकपा (एमाले) समीकरणमा सरकार बनेको छ। संसदको झन्डै दुई तिहाई बहुमतको सरकार बनेको छ। यो सरकारले पनि आम नागरिकको अपेक्षाकृत रूपमा काम गर्न सकेन भने अब यो भन्दा बलियो र फरक परिस्थितिको आशा गर्न सक्ने स्थिति हुन सक्दैन। त्यसैले सरकार बन्नु आफैँमा राजनीतिक शक्तिहरूको एकीकृत स्वरूप निर्माण हुनु हो।’’